राजविराज, सप्तरी ।
कुखुरा पालन क्षेत्रमा देखिएका समसामयिक समस्या, रोग नियन्त्रण तथा उत्पादन व्यवस्थापन सम्बन्धी विषयमा केन्द्रित एकदिने अन्तरक्रिया कार्यक्रम राजविराजमा सफलतापूर्वक सम्पन्न भएको छ। सुनगाभा फिड प्रा लि को आयोजना तथा श्याम ट्रेडर्सको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय कुखुरा पालक किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विशेषगरी कुखुरा पालनमा देखिने प्रमुख रोगहरू, व्यवस्थापन चुनौतीहरू तथा पछिल्लो समय बढ्दो तापक्रमका कारण उत्पन्न हुने Heat Stress (तातोबाट हुने समस्या) र यसको प्रभावकारी समाधानबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका सहजकर्ता डा जय बिक्रम शाहले किसानहरूलाई व्यवहारिक ज्ञान, वैज्ञानिक व्यवस्थापन विधि तथा उत्पादन वृद्धि गर्ने आधुनिक उपायहरूबारे विस्तृत प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले बदलिँदो मौसमीय अवस्थाले कुखुरा पालनमा पार्ने असर र त्यसबाट जोगिने व्यवहारिक उपायहरूबारे समेत जानकारी दिनुभयो।
कार्यक्रमले किसानहरूमा प्राविधिक ज्ञान अभिवृद्धि गर्नुका साथै उत्पादन क्षमता वृद्धि गर्दै व्यवसायलाई अझ व्यवस्थित, प्रभावकारी र नाफामुखी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
सुनगाभा फिडले सहभागी किसान, सहकार्य गर्ने साझेदार तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।