महाधिवेशन प्रतिनिधिमा उज्वल श्रेष्ठ र हेमन्त राज बराल
मध्यपुर थिमि । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा न्हुछेरत्न मानन्धरको नेतृत्वमा १३ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको छ।
एभरेस्ट पार्टी प्यालेसमा आज सम्पन्न अधिवेशनबाट उपसभापतिमा उषा प्रजापति, सचिवमा मुरारी नेपाल तथा सहसचिवमा बोधकुमार भण्डारी चयन भएका छन्। सदस्यहरूमा चन्द्रभक्त श्रेष्ठ, रिता खनाल, राजेन्द्र चक्रधर, महेश्वर श्रेष्ठ, समिर पौडेल, प्रविना कायस्थ, सलिना कार्की र सजिना प्रजापति चयन भएका छन्। दलित महिला सदस्य भने पछि मनोनित गरिने जनाइएको छ।
अधिवेशनले जिल्ला प्रतिनिधिमा सुस्मिता श्रेष्ठ, संयम कोइराला र सुरज श्रेष्ठलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा राजेश उप्रेती र राधाकृष्ण श्रेष्ठ चयन भएका छन्। यस्तै, निर्वाचन समिति संयोजक अमिर न्यौपानेका अनुसार महाधिवेशन प्रतिनिधिमा उज्वल श्रेष्ठ र हेमन्त राज बराल चयन भएका छन्।
कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार २०८० जेठ २० गते न्हुछेरत्न मानन्धरको संयोजनमा तदर्थ समिति गठन भएपछि नगरस्तरीय संगठन विस्तारलाई तीव्रता दिइएको थियो। हाल मध्यपुर थिमिमा रास्वपाका ५९८ सक्रिय सदस्य रहेको जानकारी दिइएको छ।
नगरका ८ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी एक वडामा तयारी भइरहेको रास्वपाले जनाएको छ।