मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्रः नगदेशमा दैनिक ३०–४० बिरामीलाई सेवा

नगदेश, मध्यपुर थिमि।

मध्यपुर थिमि नगरपालिका अन्तर्गत नगदेशमा सञ्चालित होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्रले दैनिक ३० देखि ४० जना बिरामीलाई सेवा प्रदान गर्दै आएको छ। यो सेवा केन्द्र नेपालभरि स्थानीय निकायबाट सञ्चालित पहिलो तथा एक मात्र होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र भएको जनाइएको छ।

नगरपालिकाले सञ्चालन गरेको यस केन्द्रमार्फत बिरामीहरूलाई सबै प्रकारका उपचार तथा औषधि पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइँदै आएको होमियोप्याथिक चिकित्सक डा. रोज प्रजापतिले जानकारी दिनुभयो।

उहाँका अनुसार केन्द्रमा विशेषगरी जेष्ठ नागरिकहरूको उपस्थिति बढी रहने गरेको छ। जोर्नी दुखाइ, छाला सम्बन्धी समस्या, श्वासप्रश्वास सम्बन्धी रोग, ग्यास्ट्रिक तथा मधुमेह लगायतका दीर्घरोगका बिरामीहरू नियमित रूपमा उपचारका लागि आउने गरेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट समेत बिरामीहरू सेवा लिन आउने गरेको जनाइएको छ। हाल सेवा केन्द्रमा २ जना चिकित्सक, १ स्टाफ नर्स र १ कार्यालय सहयोगी गरी ४ जनशक्ति कार्यरत छन्।

निःशुल्क सेवा र सहज पहुँचका कारण नगदेशस्थित यो होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र स्थानीय तथा उपत्यकावासी बिरामीका लागि महत्वपूर्ण स्वास्थ्य उपचार केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!