धनगढी । कृषि, बन तथा पर्याबरण मन्त्रालयले धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई राष्ट्रियस्तरमा रेबिज रोगको अन्वेषण तथा निदानसम्बन्धी काम गर्ने गरी रेबिज रिफरल प्रयोगशालाको थप जिम्मेवारी दिएको छ।

मन्त्रालयको निर्णयसँगै अब उक्त प्रयोगशालाले रेबिज रोगको परीक्षण, अनुसन्धान तथा प्राविधिक सहजीकरणका काम थप प्रभावकारी रूपमा अघि बढाउने भएको छ। प्रयोगशालाले हाल FAT (फ्लोरोसेन्ट एन्टिबडी टेस्ट) र PCR प्रविधिमार्फत रेबिज रोगको निदान प्रक्रिया सञ्चालन गरिरहेको जनाएको छ।
प्रयोगशालाका ्प्रमुख डा नरेश प्रसाद जोशीका अनुसार रेबिज रोगको पुष्टि गर्न मस्तिष्कको नमूना संकलन गर्नुपर्ने हुन्छ, जुन प्रक्रिया संवेदनशील तथा जटिल मानिन्छ। यस्ता नमूना संकलनबारे धेरै प्राविधिकमा पर्याप्त जानकारी नहुँदा समस्या हुने गरेको भन्दै प्रयोगशालाले देशभरका प्राविधिकलाई लक्षित गरी भर्चुअल प्राविधिक सहयोग सेवा समेत सुरु गरेको जनाएको छ। यसमार्फत नमूना संकलनसम्बन्धी परामर्श र मार्गदर्शन उपलब्ध गराइने बताइएको छ।
प्रयोगशालाले आगामी लक्ष्य अन्तर्राष्ट्रियस्तरको रेबिज अनुसन्धान तथा निदान केन्द्रका रूपमा विकास गर्ने रहेको जनाएको छ।