मौलिक बाजा संरक्षणमा वाइसीएलको अभियानः सविन कार्कीको सक्रिय साथ

भक्तपुर, ३० चैत्र २०८१ः

नेवारी संस्कृति र परम्परागत वाद्यवादनको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यसहित समाजसेवी सविन कार्कीले भक्तपुरको कुभिचा टोलस्थित मतिना धिमे खल: ख्वप:लाई परम्परागत बाजा “धा” र “भुंसे” हस्तान्तरण गरेका छन्।

यो सहयोग वाइसीएल (योङ कम्युनिस्ट लिग) नेपाल भक्तपुरको पहल र समन्वयमा शनिबार आयोजित विशेष समारोहका बीच भएको हो। उक्त बाजाहरू मतिना धिमे खल:का अध्यक्ष सविन प्रजापतिले ग्रहण गरेका थिए।

कार्यक्रममा बोल्दै समाजसेवी कार्कीले संस्कृतिको संरक्षणमा सानोतिनो योगदान दिन पाउँदा आफू गौरवान्वित भएको बताए। उनले भविष्यमा पनि खल: र नेवारी संस्कृति सम्बद्ध क्रियाकलापहरूमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।

वाइसीएल भक्तपुरका इन्चार्ज नरेश रन्जितले संस्कृति जगेर्ना युवाहरूको प्रमुख जिम्मेवारी रहेको भन्दै मौलिक परम्पराको संरक्षणमा सक्रिय हुन सबैलाई आग्रह गरे।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) भक्तपुर नगर अध्यक्ष राकेश सुवाल, वाइसीएल प्रदेश नेता रोशन बासुकला, भक्तपुर अध्यक्ष सरराज उप्रेती, सचिव सुरेन्द्र सुवाल, नगर अध्यक्ष बिकाश लाखे, र मतिना धिमे खल: ख्वप:का युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस कार्यक्रममार्फत परम्परागत बाजा हस्तान्तरण मात्र नभई स्थानीय स्तरमा सांस्कृतिक चेतना र संरक्षण अभियानमा सशक्त सन्देश प्रवाह गरिएको सहभागीहरूको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!