श्री बालकुमारी माता मन्दिर निर्माणका लागि महायज्ञ आयोजना: रु. २ करोड ५० लाख संकलनको लक्ष्य

भक्तपुर, ३१ चैत्र २०८१:

भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित बसिक्व टोलमा श्री बालकुमारी माताको मन्दिर निर्माणका लागि वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ। मन्दिर लगायतका धार्मिक संरचना निर्माण गर्न आवश्यक ३ करोड ५८ लाख रुपैयाँको परियोजनामध्ये २ करोड ५० लाख रकम महायज्ञमार्फत संकलन गर्ने लक्ष्य राखिएको छ।

प्राचीन लिच्छवीकालीन सभ्यता बोकेको यस क्षेत्रलाई परम्परागत शैलीमा धार्मिक सम्पदाको केन्द्र बनाउने उद्देश्यले स्थानीयस्तरबाट निरन्तर प्रयास हुँदै आएको छ। बसिक्व टोललाई हिरामान चोक वा हिरामान खलको नामले समेत चिनिने गरिन्छ, जहाँ स्व. चन्द्रलाल चपलछें श्रेष्ठको पहलमा ढुंगेधारा, कुवा र फल्चा पुनर्निर्माण गरी वर–पिपल रोपेर सांस्कृतिक पुनरुत्थान गरिएको थियो।

स्थानीयवासीले आठ वटा खोपामा गणेश, कुमार, भिमसेन, दक्षिणकाली, दुर्गा, सरस्वती, विष्णु र विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गर्दै आएका छन्। अहिले भने आराध्यदेव श्री पशुपतिनाथ र नेवार समुदायका देवी बालकुमारीको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ।

मन्दिर निर्माणका लागि वडास्तरदेखि प्रदेश सरकारसम्मको सहयोगमा सत्तल र अन्य संरचना निर्माण कार्य जारी छ। हालसम्म विभिन्न निकायबाट झन्डै ८५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। यसै क्रममा, महायज्ञ आयोजक मूल समारोह समिति संयोजक इन्जिनियर श्रीराम श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय समिति गठन गरिएको छ।

महायज्ञमा बृन्दावनबाट आमन्त्रित श्री श्री श्री १००८ महामण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराजले प्रवचन दिनेछन्। वैशाख १९ गते बिहान कलश यात्रा र दिउँसो १ बजे समुद्घाटन गरिनेछ। वैशाख २५ र २६ गते तुलादान, सामूहिक ब्रतबन्ध, लक्ष्यवर्ती प्रज्वलन जस्ता विशेष धार्मिक कार्यक्रम पनि हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!