बोदेको जिब्रो छेडने जात्राः २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेड्दै

मध्यपुर थिमि, ३१ चैत्र २०८१ः

मध्यपुर थिमि नगरपालिका वडा न ८ बोदेमा वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष पनि २८ वर्षीय सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिने भएका छन्।

परम्परागत रूपमा चल्दै आएको यो जात्रामा सुजन तेस्रोपटक सहभागी हुँदैछन्। उनी यसअघि दुई पटक जिब्रो छेडेर बोदेको सांस्कृतिक धरोहरलाई जोगाउने जिम्मेवारी सम्हालिसकेका छन्।

सुजनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले ९ पटक जिब्रो छेडेर जात्रालाई अगाडि बढाएका थिए भने उनका काका कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटकसम्म यो जात्रामा सहभागिता जनाएका थिए। यसरी, बोडेमा यो जात्रा एकै परिवारका तीन पुस्ताले चलाइरहेका छन्।

सुजन भन्छन्, “बुबाले जिब्रो छेड्दा म पनि सँगै हुन्थेँ। जात्रा, कला र संस्कृतिलाई उहाँले जोगाउनु भएको देखेर मलाई पनि आँट आयो। अब म पनि महादीप बोकेर बोदे सहर परिक्रमा गर्नेछु।”

बोदेमा यो जात्रा सञ्चालन गर्न धेरै धार्मिक नियम र अनुशासनहरू पालना गर्नुपर्छ। जात्राको तीन दिनअघिदेखि व्रत बस्नुपर्ने, नुन नखानु पर्ने, महिलालाई नछुनु पर्ने, सुतक–जुठो परेका व्यक्तिसँग टाढा रहनुपर्ने लगायतका कठोर नियमहरू छन्।

जात्राका दिन बोदे क्षेत्रका विभिन्न देवीदेवताको पूजा गरेर प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ दर्शकहरूको उपस्थितिमा जिब्रो छेडिन्छ। त्यसपछि अर्धचन्द्राकार महादीप बोकेर शहर परिक्रमा गरिन्छ। जात्रा सकिएपछि जिब्रोमा लागेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकिन्छ र घाउमा सोही मन्दिरको माटो लगाइन्छ।

हालसम्म बोदेका १३ जनाले १०८ वर्षसम्म यो परम्परालाई निरन्तरता दिएको अभिलेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!