काठमाडौं, ३१ चैत्र २०८१ः
नेपालमा बढ्दो रूपमा देखिँदै गएको प्रतिजैविक औषधी (Antibiotics) को दुरुपयोग विरुद्ध जनचेतना फैलाउने उद्देश्य सहित नेपाल औषधी ब्यबसायी संघ, काठमाडौं शाखा ले नववर्ष २०८२ को अवसरमा विशेष भित्ते पात्रो सार्वजनिक गरेको छ।
“Adopt AWaRe: Handle Antibiotics with Care.” भन्ने मूल मन्त्र बोकेको यो पात्रो औषधिको जिम्मेवार र विवेकपूर्ण प्रयोगप्रति सशक्त सन्देश दिन खोजिएको सामाजिक अभियानको भाग हो।

संघका महासचिब शुभ मान श्रेष्ठ सुमनका अनुसार, स्वास्थ्य सेवा क्षेत्रमा संलग्न सबै चिकित्सक, फार्मासिष्ट, औषधि व्यवसायी तथा सम्बन्धित पक्षहरूले सेवाग्राहीको स्वास्थ्यलाई प्राथमिकता दिँदै प्रतिजैविक औषधीको अनावश्यक प्रयोग नगर्नु पर्ने आवश्यकता आज झनै बढ्दो छ।
“औषधिको दुरुपयोगले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्दछ, यसले ब्याक्टेरियालाई प्रतिरोधी बनाउने खतरा बढाउँछ, जसको परिणामस्वरूप सामान्य संक्रमणहरू पनि उपचार गर्न गाह्रो हुने अवस्था आउन सक्छ।” सुमनले भने।
नेपालमा अझै पनि सामान्य ज्वरो, रुघाखोकी, सानातिना संक्रमणमा पनि सजिलै प्रतिजैविक औषधी प्रयोग गरिन्छ, जुन चिकित्सकहरूका अनुसार खतरनाक प्रवृत्ति हो।
यस भित्ते पात्रो अभियानलाई संघले स्वास्थ्य संस्था, फार्मेसी, औषधि वितरण केन्द्र, तथा मेडिकल व्यवसायीहरू माझ वितरण गर्ने योजना बनाएको छ, जसले जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
नेपाल औषधी ब्यबसायी संघ, काठमाडौं शाखाले यो अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मी, औषधि व्यवसायी, तथा सम्बन्धित निकायलाई दुरुपयोग नियन्त्रणमा सकृय भूमिका खेल्न पनि विशेष आह्वान गरेको छ।