सगरमाथा संवाद : जलवायु परिवर्तनले हिमाली क्षेत्र बढी जोखिममा

काठमाडौँ, ३ जेठ २०८२ —

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रहरू उच्च जोखिममा परिरहेका छन् भन्ने विषयमा सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। शुक्रबारदेखि सुरु भएको ‘सगरमाथा संवाद’को दोस्रो दिन आज हिमाली क्षेत्रको जोखिम र मूल्याङ्कनसम्बन्धी सत्रमा विज्ञहरूले यस्तो निष्कर्ष सुनाएका हुन्।

सत्रमा चिनियाँ विज्ञान प्रतिष्ठान, चीनका निर्देशक डा. टाओ वाङले विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली क्षेत्रहरू प्रत्यक्ष रूपमा प्रभावित भएको बताए। ज्युरिक विश्वविद्यालय, स्वीट्जरल्यान्डका वरिष्ठ अनुसन्धान सहयोगी डा. साइमन एलनले भने जलवायु संकटसँग जुध्नका लागि स्थानीय स्तरमा क्षमता अभिवृद्धि आवश्यक रहेको धारणा राखे।

बिजिजी इञ्जिनियरिङ इन्क, क्यानडाकी वरिष्ठ भू-वैज्ञानिक इञ्जिनियर एमिली मार्कले वातावरणीय प्रणाली तथा विकास कार्यमा जलवायु परिवर्तनको गहिरो असर पर्ने बताइन्। त्यस्तै, केइयो विश्वविद्यालय, जापानका प्रा. राजीव शाँले स्थानीयदेखि विश्वस्तरको सहकार्य र विविधताको आवश्यकता औंल्याए।

भू–विज्ञान अनुसन्धान केन्द्र, जर्मनीका प्रमुख डा. निल्स होभियसले प्राकृतिक प्रकोपहरूको पूर्वानुमान प्रणाली विकास, जलवायु प्रभावको नियमित अनुगमन, र वातावरणीय दिगोपनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

विज्ञहरूले पहाड तथा हिमाली क्षेत्रहरूलाई पृथ्वीका सबैभन्दा गतिशील र नाजुक प्रणालीमध्ये एक मानेका छन्। पहिरो, बाढी, हिमताल विस्फोट र हिउँपहिरोजस्ता शृङ्खलाबद्ध प्रकोपहरू तीव्र हुँदै गइरहेको उनीहरूको चेतावनी थियो। जलवायु परिवर्तनले यी जोखिमलाई अझ तीव्र बनाउने, जसले हिमाली पूर्वाधार, समुदायको जीविकोपार्जन, र तल्लो क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिसहरूलाई समेत असर गर्नसक्ने वैज्ञानिकहरूको चिन्ता छ।

“जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (IPCC)”को छैटौँ मूल्याङ्कन प्रतिवेदन (२०२३) अनुसार, यदि पृथ्वीको तापक्रम २ डिग्री सेल्सियसले बढ्यो भने अधिकांश पहाडी क्षेत्र मध्यमदेखि उच्च जोखिममा पर्नेछन्। यसले दिगो विकासका लागि जोखिम मूल्याङ्कन तथा जलचक्रको अनुगमनलाई अत्यावश्यक बनाउने प्रतिवेदनको सुझाव छ।

कार्यक्रमको सहजीकरण इञ्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. विष्णुप्रसाद पाण्डेले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!