भरतपुर ४, चितवन — जेठ ३, २०८२:
शिव बराल
योङ कम्युनिस्ट लिग (वाइसिएल) भरतपुर–४ चितवनको आयोजनामा जेठ ३ गते धर्मचोक लंकुमा सम्पन्न खुला रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्। तीमध्ये ६ जना महिला र ६५ जना पुरुष रहेका छन् भने २४ जना पहिलोपटक रक्तदानमा सहभागी बनेका छन्।

कार्यक्रम वाइसिएल भरतपुर–४ का अध्यक्ष सन्दीप खरालको सभापतित्वमा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा बागमती प्रदेशका माननीय सांसद तथा नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’ तथा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र चितवनका जिल्ला इञ्चार्ज घनश्याम दाहाल ‘अबिनास’ उपस्थित थिए। कार्यक्रमको उद्घाटन सापकोटा र दाहालले रक्त सङ्कलन ब्याग हस्तान्तरण गर्दै गर्नुभएको हो।
कार्यक्रममा वाइसिएल भरतपुर–४ चितवन संयोजक दुर्लभ शाही ठकुरी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ईश्वर रेग्मी, वडा नं. ४ का वडाध्यक्ष अर्पण पोखरेल, नेकपा माओवादी केन्द्र भरतपुर–४ अध्यक्ष नरिनारायण कडेल, वाइसीएल इञ्चार्ज आकाश गुरुङलगायत अतिथि उपस्थित थिए।
वेभ ग्रुपका भोजनारायण कडेल, नेपाल रेडक्रस सोसाइटी लंकु धर्मचोकका प्रतिनिधि, राधाकृष्ण महिला समूह, आमा समूह, विभिन्न सामाजिक संघसंस्था, नेकपा माओवादी केन्द्रका विभिन्न तहका पदाधिकारी र जनवर्गीय संगठनका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सन्दीप खरालले रक्तदानजस्ता कार्यक्रममार्फत युवाहरूले समाजप्रति सकारात्मक सन्देश दिएको बताए। वाइसीएल चितवन संयोजक दुर्लभ शाही ठकुरीले युवाहरूले सामाजिक सेवामा निरन्तरता दिइरहेको र समाजमा हुने विकृति–विसङ्गतिविरुद्ध सचेत र खबरदारी गर्नुपर्नेमा जोड दिए।
वडाध्यक्ष अर्पण पोखरेलले वाइसीएल नेपालले सामाजिक क्षेत्रमा गर्दै आएको क्रियाकलापको प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूमा वडा कार्यालयबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा वाइसीएल भरतपुर–४ का इञ्चार्ज आकाश गुरुङले रक्तदानमा सहभागी तथा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए। कार्यक्रम सञ्चालन नेकपा माओवादी केन्द्र भरतपुर–४ का उपाध्यक्ष टिकाराम सापकोटाले गरेका थिए।