पशु सेवा विभागको बागडोर फेरि डा. तिवारीको हातमा

काठमाडौं, ३ जेठ २०८२ः
रत्न काजि प्रजापति

करिब चार महिनादेखि नेतृत्व विहीन बनेको पशु सेवा विभागले नयाँ महानिर्देशक पाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय मार्फत डा. राम नन्दन तिवारीलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो।

विभागका पूर्व महानिर्देशक डा. उमेश दाहाल प्रदेश सचिवमा सरुवा भएपछि विभाग नेतृत्व विहीन बनेको थियो। लामो समयसम्म अनिश्चितता कायमै रहँदा मन्त्रालयले अन्ततः आज निर्णय गर्दै डा. तिवारीलाई जिम्मेवारी सुम्पिएको हो। यो उनको दोस्रो कार्यकाल हुनेछ।

नवनियुक्त महानिर्देशक डा. तिवारीले सेवा प्रभावकारी बनाउनेतर्फ आफू केन्द्रित रहने बताएका छन्। राज्यले पशु सेवा क्षेत्रमा उपलब्ध गराउने सेवाहरूलाई प्रभावकारी रूपमा प्रवाह गरिनुपर्नेमा उनले जोड दिएका छन्। साथै, किसान, व्यवसायी र सरोकारवालाहरूको समस्या प्राथमिकताका साथ समाधान गर्दै विभागीय कामलाई गतिशील बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

पछिल्लो समय मन्दीमा रहेको पोल्ट्री क्षेत्रका विविध समस्या्बारे पनि उनले गम्भीरता देखाएका छन्। यस्ता समस्याको समाधानका लागि योजनाबद्ध रूपमा पहल गरिने उनको भनाइ छ। अल्पकालीन, दीर्घकालीन र तुरुन्तै गर्नुपर्ने कार्यहरूको स्पष्ट वर्गीकरण गरी विभागको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने डा तिवारीले नौलोआयाम डटकमलाई बताए।

डा. तिवारीको पुनः आगमनसँगै विभागले नयाँ ऊर्जा पाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!