“आर्थिक समृद्धिका लागि संस्कृति” भन्ने मुल नाराका साथ गोदावरी महोत्सव आयोजना हुँदै

गोदावरी, फागुन २८,२०७९ः

आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र ईभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा आगामी २०७९ चैत २९ गते देखि २०८० वैशाख ३ गतेसम्म ५ दिने गोदावरी महोत्सव २०२३ आयोजना हुन लागेको हो ।

नेपाली नयाँ वर्ष २०८० र गोदावरी नगरपालिका स्थापना दिवसको अवसरमा “आर्थिक समृद्धिका लागि संस्कृति” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले गोदावरी नगरपालिकामा रहेका स्थानीय वस्तु, कला, संस्कृति, नवप्रवर्तक, विद्यमान एवं नव उद्यमीहरुलाई बजारीकरणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ ।

महोत्सवको मुख्य आकषर्णको रुपमा संस्थागत खरिदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल, स्थानीय उत्सव, खेल उत्सव, साहित्य उत्सव, गोदावरी कन्क्लेभ रहनेछन् ।

महोत्सवमा गोदावरी क्षेत्रका स्थानीय क्षेत्र र जातजाति तथा संस्कृतिको पहिचान दिने गरी स्थानका आधारमा स्थानीय उत्सवको आयोजना गरिनेछ । थेचो उत्सव, चम्पापुर उत्सव, ठैव उत्सव, कोड्कु उत्सव, साहित्य उत्सव, खेल उत्सव आदि नामबाट उत्सव आयोजना गरिनेछ । उक्त महोत्सव मार्फत स्थानीय क्षेत्रका आदिवासीहरु दनुवार, पहरी, तामाङ आदिको सांस्कृतिक पहिचानलाई उजागर गरिनेछ ।

महोत्सवको अर्को आकर्षणको रुपमा गोदावरी कन्क्लेभ हुनेछ । उक्त कन्क्लेभमा देशका प्रतिष्ठित आर्थिक व्यक्तित्वसँगको छलफल र प्रश्नोत्तर कार्यक्रम राखिने छ ।

महोत्सव अवधिभर पर्यटकहरुको मनोरञ्जनका लागि परम्परागत सांस्कृतिक कार्यक्रम, सांगीतिक कार्यक्रम, साहासिक गतिविधि तथा व्यापारिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिने छ । महोत्सवमार्फत स्थानीय कला र संस्कृतिको प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, महिला उद्यमशीलता प्रवद्र्धन, स्थानीय कलाकारको आकर्षक कार्यक्रम, घरेलु तथा लघु उद्यमको प्रवद्र्धनका विशेष कार्यक्रमहरु संचालन हुनेछन् ।

काठमाडौं उपत्यका नजिकैको सबैभन्दा लोकप्रिय गन्तव्य मध्येमा गोदावरी एक हो । लिच्छवीकालिन तथा मल्लकालिन प्राचिन क्षेत्रहरु प्याङगाउँ, लेले, चापागाउँ, मञ्जुश्रीभन्दा पुरानो बाडेगाउँको भगवान पाउ, समुन्द्री सतहबाट २ हजार ७६२ मिटर उचाइमा रहेको फुलचोकी डाँडा आदि गोदावरीको क्षेत्रको आकर्षणको रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!