कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी सडक सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आजदेखि परीक्षणका रूपमा एकतर्फी सञ्चालनमा ल्याइएको छ।

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि भदौ १४ गते सडक भासिएको थियो। भासिएको सडकभन्दा केही माथि भित्तो कटान गरी नयाँ ट्र्याक निर्माण गरेर आजदेखि परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो।

सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी रहेको छ। सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउन केही दिन लाग्ने सडक निर्माणमा खटिएका अधिकारीहरूले बताएका छन्। हाम्रा धादिङ सहकर्मी शिव सिलवालका अनुसार हाल सडकको अवस्था परीक्षण गर्न एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो।

सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री बोकेर पहिरोका कारण बाटोमा रोकिएका ट्रक तथा ग्यास बुलेटहरू कृष्णभीर पार गराइएको छ।

तत्कालका लागि ग्यास बुलेट र ट्रकहरूलाई मात्र सञ्चालन गर्न दिइनेछ। सडकको अवस्था परीक्षणका क्रममा यातायात सञ्चालनमा ल्याइएको र अवस्था हेरेर थप सवारीसाधनलाई सहज रूपमा आवतजावत गर्न दिइने बताइएको छ।

कृष्णभीरमा सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आउने–जाने सवारीसाधनको आवागमन प्रभावित भएको थियो। सडक बन्द भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिँदा यात्रुले सास्ती खेप्नुपरेको थियो। दैनिक उपभोग्य सामग्री तथा अन्य सामानको ढुवानीसमेत प्रभावित भएको थियो भने वैकल्पिक मार्ग सीमित हुँदा लामो दूरीका यात्रुले घुमाउरो बाटो प्रयोग गर्नुपरेको थियो।

कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौँ, धादिङ, चितवन, पोखरालगायतका क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ। सडकको निर्माण तथा स्तरोन्नतिको काम पूरा भएपछि रोकिएका र वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य सवारीसाधन नियमित रूपमा सञ्चालनमा आउनेछन्। यससँगै यात्रुको समय र खर्च बचत हुनुका साथै दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीको ढुवानीसमेत सहज हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!