काठमाडौँ / रत्नकाजी प्रजापति।
नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाको ७औँ वार्षिकोत्सवका अवसरमा टोखा नगर उपसमितिले आइतबार सामाखुसीस्थित स्काई ब्याङ्क्वेटमा आयोजना गरेको GPP सम्बन्धी कार्यक्रममा सहभागी वक्ताहरूले औषधि व्यवसायलाई केवल व्यापारका रूपमा नभई नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको जिम्मेवार सेवाका रूपमा अघि बढाउनुपर्ने बताए।
कार्यक्रममा वरिष्ठ औषधि व्यवस्थापक किरण बज्राचार्यले GPP सम्बन्धी प्रशिक्षण दिँदै औषधिको उचित भण्डारण, सुरक्षित वितरण, बिरामीलाई आवश्यक परामर्श तथा फार्मेसी व्यवस्थापनका विषयमा जानकारी गराउनुभयो। उहाँले GPP का मापदण्डलाई कागजमा सीमित नराखी व्यवसायीले आफ्नै फार्मेसीमा व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिनुभयो।
औषधि व्यवसायीहरू समयअनुकूल ज्ञान, प्रविधि र व्यावसायिक अभ्यासमा निरन्तर अपडेट हुनुपर्नेमा जोड दिँदै प्रशिक्षक बज्राचार्यले आफ्ना फार्मेसीमा ‘असल फार्मेसी अभ्यास’ (Good Pharmacy Practice–GPP) प्रभावकारी रूपमा लागू गर्दै औषधिको सुरक्षित प्रयोग र गुणस्तरीय सेवा सुनिश्चित गर्न व्यवसायीलाई आग्रह गर्नुभयो।
औषधिको गुणस्तर र बिरामीको सुरक्षासँग कुनै सम्झौता गर्न नहुने भन्दै आयोजकले व्यवसायीलाई नियमित रूपमा ज्ञान तथा सीप अभिवृद्धि गर्न र आ–आफ्ना फार्मेसीमा असल फार्मेसी अभ्यास पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। यसबाट फार्मेसी सेवालाई थप व्यवस्थित, जिम्मेवार र सेवामुखी बनाउन सहयोग पुग्ने जनाइएको छ।
वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष रितेश रिमाल, कार्यक्रमका सभापति तथा शाखा अध्यक्ष शंकर महर्जन, संस्थापक अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, NCDA बागमती प्रदेशका सल्लाहकार गजेन्द्रमान श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रम शाखाका महासचिव **शुभमान श्रेष्ठ ‘सुमन’**ले सञ्चालन गर्नुभएको थियो।