काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले काठमाडौंस्थित घोसर (येलो) गुम्बामा आश्रय लिएर बसिरहेका रसुवाका बाढीपहिरोपीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको पीडा, समस्या, गुनासा र तत्कालका आवश्यकताबारे जानकारी लिएका छन्।
मुख्यमन्त्री थापाले गुम्बामा आश्रय लिएर बसिरहेका रसुवाका बाढीपहिरोबाट विस्थापित १७५ घरधुरीका ५२० जना पीडित नागरिकसँग भेटघाट गरेका हुन्। भेटका क्रममा उनले पीडित परिवारका समस्या र आवश्यकताहरू ध्यानपूर्वक सुने।
विपद्का कारण घरबार, सम्पत्ति तथा जीवनका आधारहरू गुमाउनुपरेको कठिन परिस्थितिमा पीडितहरूको पीडा सुन्नु मात्र नभई त्यसलाई राज्यको जिम्मेवारी र साझा दायित्वका रूपमा लिनुपर्ने मुख्यमन्त्री थापाको भनाइ छ।
उनले पीडित परिवारलाई तत्काल आवश्यक राहत, सुरक्षित बसोबास, स्वास्थ्य तथा अन्य अत्यावश्यक सेवाको सुनिश्चिततासँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि बागमती प्रदेश सरकार निरन्तर प्रतिबद्ध भएर काम गर्ने बताए।
विपद्को घडीमा नागरिकलाई एक्लो महसुस हुन नदिने, पीडामा साथ दिने तथा आवश्यक सहयोग र समन्वयलाई प्रभावकारी बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको मुख्यमन्त्री थापाले उल्लेख गरे।