धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा ठप्प, बिरामी समस्यामा

धरान, २० साउन २०८२ः

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा तीन दिनदेखि पूर्ण रूपमा बन्द छ। सात महिनादेखि तलब र सेवासुविधा नपाएको भन्दै फार्मेसीमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएपछि सेवा ठप्प भएको हो।

फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र ४ जना सहयोगी गरी २२ जना कर्मचारीले तलब र सुविधाको माग गर्दै प्रतिष्ठान परिसरमै धर्ना दिइरहेका छन्। नियमित तलब नपाउँदा जीविकोपार्जनमा समस्या भएको भन्दै उनीहरू तलब नआएसम्म काममा फर्कन नसक्ने अडानमा छन्।

फार्मेसी सेवा बन्द हुँदा चौबीसै घण्टा सञ्चालन हुने औषधि वितरण ठप्प भएको छ। यसले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निःशुल्क दिइने औषधिसमेत रोकिएको छ। सेवा लिन आएका बिरामीहरू महँगो मूल्य तिरेर निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन्।

प्रतिष्ठानको फार्मेसी सेवा केटिएम सेक्युरिटी सर्भिसेज प्रालिमार्फत सञ्चालित छ। तलब तथा सुविधा दिने जिम्मा पनि सोही कम्पनीको हो। विसं २०७० मङ्सिर ८ मा तीन वर्षका लागि सम्झौता गरिएपछि म्याद थप गर्दै सेवा निरन्तरता दिइएको हो। सम्झौताअनुसार सेवा अवरोध भएमा २४ घण्टाभित्र वैकल्पिक जनशक्ति व्यवस्थापन गर्नुपर्ने प्रावधान भए पनि हालसम्म त्यसको कार्यान्वयन भएको छैन।

प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले विज्ञप्ति जारी गर्दै अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवा अवरोध हुनु कानुनविपरीत भएको बताएका छन्। विज्ञप्तिमा अस्पताल क्षेत्रभित्र धर्ना, हडताल वा तालाबन्दी गर्न कानुनले अनुमति नदिने स्मरण गराउँदै, केटिएम सर्भिसेजलाई सेवा तुरुन्त सुचारु गराउन आग्रह गरिएको छ।

प्रतिष्ठानले आन्दोलनको असर बिरामीको सेवामा प्रत्यक्ष परेको र संस्थाको छविमा नकारात्मक असर पारेको भन्दै समस्या तत्काल समाधान गर्न सम्बन्धित पक्षसँग अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!