विश्व पानी सप्ताह सम्पन्न

काठमाडौं, चैत्र ९,२०७९ः

कृष्ण किसि

संसारका हरेक देशमा यो हप्ता मनाई रहेको विश्व पानी सप्ताह अन्तर्गत नेपालमा पनि आज त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा विश्व मौसम संगठन डब्लुएमओ स्थापना दिवस मनाई सम्पन्न भएको छ।

जल तथा मौसम विद्हरूको साझा संगठन सोहम-नेपाल, त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र स्माल अर्थ नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपालको जल तथा मौसम विज्ञानका भिष्म पितामह प्रा.डा. सुरेश राज चालिसेले प्रमुख अतिथिको रूपमा बोल्नुहुँदै जलवायु परिवर्तनले विश्वमा ल्याउन लागेको अति विषम परिस्थितिबाट जोगिन भरपर्दो तथ्याङ्क संकलन र त्यसमा आधारित शोधको महत्व बारे प्रकाश पार्नु भयो। आइपिसिसिले दुई दिन अगाडि मात्र प्रकाशन गरेको छैठौं मुल्याङ्कन प्रतिवेदनमा विश्वको औसत तापक्रम ११ डिग्री बढिसकेको र केही दशक भित्र यसले पृथ्वीको जलवायुमा भयानक परिवर्तन ल्याउने प्रक्षेपण गरेको छ।

उक्त कार्यक्रममा चालिसेले जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जल तथा मौसम विज्ञान विभागले सोहम-नेपाल जस्ता संस्थासँग शोधकार्यमा हातेमालो गर्नुपर्ने कुरामा जोड दिनुभयो। सोहम-नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले अहिलेकोले भन्दा आगामी पुस्ताले जलवायु परिवर्तनको नकारात्मक प्रभाव बढी झेल्नु पर्ने भएकोले युवा वैज्ञानिकहरू थप सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभयो।

लगभग ६५ जना जल तथा मौसम विद्हरू सम्मिलित उक्त कार्यक्रममा त्रिवि केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. दीपक अर्याल तथा सोही विभागका प्राध्यापक टेक बहादुर क्षेत्रीले जलवायु परिवर्तनका विविध पक्षमा प्रकाश पार्नु भएको थियो भने श्री गोविन्द झाले मौसम भविष्यवाणीको मोडल बारे, प्राध्यापक विनोद पोखरेलले भविष्यको मौसम तथा विषम जलवायु बारे र निक्कीश्री श्रेष्ठले नदी तथा पहिरोको अनुगमन बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको संयोजन सोहम-नेपालका महासचिव डा. के.एन. दुलालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!