नगरस्तरीय प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता भक्तपुरमा सम्पन्न

चण्डी भगवती रास भजन मण्डल प्रथम

भक्तपुर चैत्र १७,२०७९ः

कृष्ण किसि

भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार भक्तपुर नपा वडा नं. ५ खँलामा नगरस्तरीय प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता शुक्रबार भव्य रुपमा सफलताका साथ सम्पन्न भयो । नगरव्यापी प्रगतिशील भजन प्रतियोगितामा चण्डी भगवती रास भजन मण्डल प्रथम, पाताल गणेश भजन मण्डल द्वितिय, सुभप्रभात राम भजन मण्डल तृतिय र इन्द्रायणी भजन मण्डल र बाराही अजिमा भजन खलःले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । त्यस्तै वाद्यवादनतर्फ भनपा ४ पाताल गाणेश भजन मण्डलका महेन्द्र सिंख्वाल र गायनतर्फ भनपा ३ इन्द्रायणी भजन मण्डलकी निरुता गोरा उत्कृष्ट हुन सफल भएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिताका विजयी भजन समूहहरुलाई पुरस्कार वितरण गरियो । पुरस्कार वितरण समारोहमा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले कला संस्कृति मानव जीवनको जीवनपद्धतिसँग सम्बन्धित समाजको ऐनाको रुपमा रहेको बताउनुभयो । भजनमार्फत समाज परिवर्तन र जनचेतना जगाउने अभियानमा लाग्न प्रेरित गर्दै उहाँले प्रगतिशील भजनकिर्तनबाट देशको इतिहास झल्काउने काम हुने हुँदा जनताको पक्षमा साहित्य लेख्न अभिप्रेरित गर्नुभयो ।
साहित्यकै माध्यमबाट नयाँ पुस्तालाई सही मार्गमा दोर्याउने काम गर्न सकिने बताउँदै उहाँले जनतालाई संगठित र सचेत पार्ने अभियानस्वरुप यस्ता गतिविधिहरुलाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रगतिशील भजन प्रतियोगिताको प्रमुख उद्देश्य जनताको राजनीतिक र सामाजिक चेतनास्तर उकास्ने, अन्यायको विरोध गरी समाजमा परिवर्तन ल्याउने हो भन्नुभयो । साहित्य र संस्कृतिको माध्यमबाट समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले यस्ता प्रतियोगितालाई जोड दिँदै आएको बताउँदै उहाँले नगरपालिकाको आह्वानमा सहभागी सबैमा धन्यवादज्ञापन गर्नुभयो ।

कार्यक्रममा निर्णायकमण्डलका तर्फबाट जनकवि चन्द्रबहादुर उलक, प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता संयोजन समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र सदस्य उकेश कवांले प्रतियोगिताको उद्देश्य, नियम र महत्वबारे प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको प्रगतिशील सांस्कृतिक भजन प्रतियोगितामा ४० वटा भजन समूहहरुले भाग लिएका थिए ।
प्रतियोगितामा पहिलो भएको भजन समूहलाई नगद रु. २५,०००।— का साथै मादल १ थान, तबला १ जोडा, तिं छु १ जोडा, झ्याली १ जोडा, दोस्रो भएको समूहलाई नगद रु. २०,०००।— का साथै मादल १ थान, तिं छु १ जोडा, झ्याली १ जोडा, तेस्रो भएको समूहलाई नगद रु. १५,०००।— का साथै मादल १ थान, तिं छु १ जोडा र सान्त्वना स्थान प्राप्त गरेका भजन समूहलाई नगद रु. १०,०००।— का साथै मादल १ थान, झ्याली १ जोडा पुरस्कार प्रदान गरिएको थियो । साथै प्रतियोगिताका उत्कृष्ट कलाकार गायनतर्फ नगद रु. ५,०००।— र उत्कृष्ट कलाकार बाजातर्फ – नगद रु. ५,०००।— प्रदान गरिएको थियो भने सहभागी टोलीलाई खाजा वापत रकम प्रति टोली नगद रु. २५००।— प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विजयी टोलीलाई पुरस्कार र निर्णायक मण्डलका सदस्यहरु चन्द्रबहादुर माक, बद्रीनारायण ताम्राकार, विष्णुबहादुर मानन्धर, पुष्पलाल सुजखू, ओमप्रकाश श्रेष्ठ, दामोदर सुवाल र इन्दिरा लाछिमस्यूलाई मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई सहभागिताको प्रमाणपत्र र मादल १÷१ थान हस्तान्तरण गर्नुभएको थियो ।

साथै प्रमुख प्रजापतिले उद्घाटन ¥यालीमा सहभागी बाजा खलः लाई धन्यवाद पत्र समेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!