नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रिय अध्यक्षमा सुना सुवेदी बडालको उम्मेदवारी घोषणा

उपाध्यक्षदेखि सचिवसम्म आकांक्षीको चर्चा, कोषाध्यक्षमा दुई केन्द्रीय सदस्यको दाबेदारी

काठमाडौ। नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १५औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा र आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ। आगामी मंसिर २५ र २६ गते काठमाडौंमा हुने महाधिवेशनमा वर्तमान केन्द्रीय कार्यसमितिकी द्वितीय उपाध्यक्ष सुना सुवेदी बडालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

संघको नेतृत्वका लागि बडालको उम्मेदवारी घोषणासँगै अन्य पदमा पनि उम्मेदवारीका आकांक्षीहरू खुल्न थालेका छन्। वर्तमान कार्यसमितिका तृतीय उपाध्यक्ष एकनारायण पौडेलले थोक व्यवसायीतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। त्यस्तै, वर्तमान कार्यसमिति सदस्य अर्जुन नेपालले खुद्रा व्यवसायीतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

सचिव पदका लागि लुम्बिनी प्रदेश कार्यसमितिका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँको उम्मेदवारी घोषणासँगै सचिव पदमा पनि प्रतिस्पर्धा हुने देखिएको छ।

त्यसैगरी, कोषाध्यक्ष पदमा वर्तमान केन्द्रीय सदस्यद्वय हरिबहादुर भुजेल र शंकर सुवेदीले उम्मेदवारी दिने संकेत गर्नुभएको छ। यद्यपि, उहाँहरूबाट औपचारिक उम्मेदवारी घोषणा हुन भने बाँकी छ।

बडालले भने महाधिवेशन हुने वा नहुने भन्ने अन्योल कायम रहेकै अवस्थामा करिब एक वर्षअघि नै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको थियो। उम्मेदवारी घोषणा गर्दै उहाँले संघलाई सम्पूर्ण व्यवसायीको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। संघभित्र देखिँदै आएको अमर्यादित राजनीति अन्त्य गरी व्यवसायीलाई सुरक्षित, सम्मानजनक र आत्मविश्वासी बनाउने वातावरण सिर्जना गर्नु आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभएको थियो।

बडाल कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि.की अध्यक्षसमेत हुनुहुन्छ। संघको भवन निर्माणका लागि आफ्नो नाममा रहेको जग्गा दान गर्नुभएकी बडालले संघको संस्थागत विकासमा समेत योगदान पुर्‍याउनु भएको छ।

संघको १४औँ राष्ट्रिय महाधिवेशन २०८० पुस २४ र २५ गते चितवनमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको नियमित महाधिवेशन २०८२ मै हुनुपर्ने भए पनि केही प्राविधिक कारणले एक वर्ष ढिलो हुन लागेको हो। महाधिवेशन हुने वा नहुने भन्ने अन्योलका बीच हिजो भक्तपुरको नगरकोटमा बसेको केन्द्रिय कार्यसमितिको पुर्ण बैठकले १५ औँ राष्ट्रिय महाधिवेशन तोकेकै समयमा गर्ने निर्णय गरेको थियो र सोहि अनुरुप महाधिबेशनको तयारी अघि बढेको छ।महाधिवेशनको मिति नजिकिँदै जाँदा संघको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

नयाँ नेतृत्वका लागि व्यवसायीहरूको हकहित संरक्षण, पेशागत मर्यादा र व्यावसायिक सुरक्षाको सुनिश्चितता, संघको संस्थागत सुदृढीकरण तथा पशुपन्छी औषधि व्यवसायलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने चुनौती र अवसर दुवै रहनेछन्। साथै, गुणस्तरीय औषधिको सहज उपलब्धता र व्यवसायीका नीतिगत तथा व्यावहारिक समस्याको समाधानका लागि राज्यका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र पैरवी गर्नु पनि नयाँ नेतृत्वको महत्त्वपूर्ण जिम्मेवारी हुनेछ।

मंसिर २५ र २६ गते काठमाडौंमा हुने १५ औँ राष्ट्रिय महाधिवेशनले आगामी कार्यकालका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!