काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको काठमाडौंमा आयोजना हुने १५औँ राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय सचिव केशव शर्मा मरासिनीले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
२०७० सालमा बागमती जिल्ला शाखा मार्फत संघको नेतृत्वमा प्रवेश गर्नुभएका मरासिनी व्यवसायीमाझ सफल, अनुभवी र समन्वयकारी नेतृत्वका रूपमा परिचित हुनुहुन्छ। संघको विभिन्न जिम्मेवारीमा रहेर लामो समय काम गर्नुभएका उहाँले संगठन सञ्चालन, व्यवसायीबीचको एकता र संस्थागत समन्वयमा महत्वपूर्ण अनुभव हासिल गर्नुभएको छ।
महासचिव पदमा निर्वाचित भएमा आफूले हासिल गरेको ज्ञान, अनुभव र संगठनात्मक क्षमतालाई थप प्रभावकारी रूपमा उपयोग गर्दै संघलाई अझ सशक्त, व्यवस्थित र गतिशील बनाउने उहाँको प्रतिबद्धता छ। सामूहिक एकतालाई मजबुत बनाउँदै संघको संस्थागत गरिमा र प्रतिष्ठालाई थप उचाइमा पुर्याउने लक्ष्यसमेत उहाँले अघि सार्नुभएको छ।
उम्मेदवारी घोषणा गर्नुअघि उहाँले शाखाका अग्रज तथा अनुभवी व्यवसायीहरूसँग राय, सुझाव र परामर्शसमेत लिनुभएको थियो। सबैको सल्लाह र सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने उहाँको भनाइ छ।
देशभरका विभिन्न भूगोल र प्रकृतिका व्यवसायीहरूको भावना, आवश्यकता र समस्यालाई समान रूपमा सम्बोधन गर्दै समावेशी, समन्वयकारी र सबैलाई अपनत्व महसुस हुने नेतृत्व प्रदान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।