काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको आसन्न १५औँ राष्ट्रिय महाधिवेशनमा पूर्व केन्द्रीय महासचिव नारायण भुजेलले आयाततर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
संघको नेतृत्वमा रहेर लामो समय काम गरेको अनुभव सहित भुजेलले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो। नौलो आयाम डटकमसँग कुरा गर्दै उहाँले संघलाई थप व्यवस्थित, सशक्त र व्यवसायीमैत्री बनाउने उद्देश्यले उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो।
पशुपन्छी औषधि व्यवसायको क्षेत्रमा देखिएका नीतिगत, व्यावसायिक तथा प्रशासनिक समस्याको समाधानका लागि संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँको धारणा छ। विशेषगरी आयात व्यवसायसँग सम्बन्धित समस्या, औषधिको गुणस्तर, सहज आपूर्ति, व्यवसायीको हकहित संरक्षण र नीतिगत सुधारका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको प्रतिबद्धता छ।
संघभित्र आपसी एकता, सहकार्य र समन्वयलाई बलियो बनाउँदै देशभरका व्यवसायीको साझा आवाजका रूपमा संस्थालाई स्थापित गर्न आफूले भूमिका निर्वाह गर्ने भुजेलले बताउनुभएको छ।
आफूले संघमा हासिल गरेको अनुभवलाई आगामी दिनमा संस्थागत विकास र व्यवसायीको हितमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी अघि सारेको उहाँको भनाइ छ।