चालिस वर्ष अगाडिको असार पन्ध्र र मैले खोजेकी रमा ः सुनिल उलक

“म त्यो दिन खाजा बोकेर खेतमा जादै थिए । एक जना बिदेशी खेतमा पछि पछि आउनु भयो । बिदेशीको साथमा दुइ जना नेपाली पनि थिए । खेतमा पुगिसके पछि वहाँले फोटो खिच्ने इच्छा गर्नुभएको भनेर नेपाली दाइहरूले भन्नुभयो । अनि वहाँले भनेकै भरमा मलाई टाउकोमा मजेत्रो बाध्न लगाउनु भयो । कमरमा आमाको पछ्यौराको पटुका बाध्न लगाउनुभयो । हातमा रातो चुरा र पोते लगाउन भन्नुभयो । आमा तथा अरू दिदीहरूले बिहे नभएकोले रातो चुरा र पोते लगाउनु हुन्न भनेर लगाउन दिनु भएन । त्यो दिनमा पानी परेकै थिएन तर मलाइ पानी परेको बेलामा झैँ स्याखु ओढ्न लगाउनु भयो । मैले धान रोप्न जानेकै थिइन तर पनि मलाई हातमा धानको बेर्ना लिएर धान रोप्न लागेको झै बनाएर फोटो खिच्नु भयो । वहाँले त्यतिबेला धेरै फोटो खिच्नु भएको थियो । त्यतिबेला मलाई केही लाज, केही डर र केही अप्ठ्यारो लागी रहेको थियो । त्यसैले मेरो अनुहारको भाव यो फोटोमा देखिएको छ ।

फोटो खिचिसके पछि फर्कन बेलामा नेपाली दाइहरूले पछि फोटो पठाइ दिनुहुन्छ भन्नु भएको थियो । तर कहिल्यै फोटो पठाउनु भएन । एकै चोटी हिजो राती मैले त्यो बेला खिचेको आफ्नो फोटो हेर्न पाए । मलाई अलि अलि अप्ठ्यारो लाग्यो । श्रीमानले पनि हेर्नुभयो । मलाई एकदम खुशी लाग्यो यो फोटो देख्न पाउँदा । म अव यो फोटो ठूलो बनाएर राख्छु । तपाइलाई पनि धन्यवाद, फोटो खोजेर राखिदिनु भएकोमा ।”
रमाको खुशीलाई साथ दिन म आफै नै यो फोटो ठूलो साइजमा प्रिन्ट गरेर उनैलाई दिन गएँ ।
पाँच वर्ष अगाडिको असारे पन्ध्रको धान रोप्न लागेकी महिला खोज्ने क्रमको कथा हो यो । फोटो दिन उनको घर खोज्दै गएँ । रमासंग भेट भयो । लामो कुराकानी भयो । उनको श्रीमान पनि साथमा हुनुहुन्थ्यो । कुराकै क्रममा थाहा भयो । रमा मसंग बाल्यकालमा पढेकी रहिछ । मलाई याद नै भएन । उनले सम्झेको रहेछ ।
फोटो हस्तान्तरण पछि रमासंग भेट भएको छैन । शायद यो फोटो रमाको कोठामा अझै सजिएको नै छ होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!