चितवन। नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश समन्वय समितिको आयोजनामा पोल्ट्री व्यवसायमा वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम चितवनमा सम्पन्न भएको छ।
नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा तथा बागमती प्रदेश समन्वय समितिका संयोजक ज्ञानबहादुर बिसुरालको अध्यक्षतामा भएको कार्यक्रममा वातावरण विज्ञ युवराज ढकालले प्रशिक्षण दिएका थिए।
प्रशिक्षक ढकालले वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ र व्यवसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका, २०७१ ले व्यवस्था गरेका कानुनी प्रावधानबारे व्यवसायीलाई जानकारी गराएका थिए। प्रशिक्षणका क्रममा उद्योग व्यवसायसँग सम्बन्धित ऐन, नीति, नियम तथा निर्देशिका, प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गर्ने प्रक्रिया, आवश्यक कागजात, फोहोर व्यवस्थापन, स्वच्छ उत्पादन र फार्मको स्वअनुगमनलगायत विषयमा विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले संघले व्यवसायीका समस्या समाधानका लागि गर्दै आएका पहल, व्यवसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका, २०७१ का प्रावधान कार्यान्वयनका लागि विभागबाट भएका निर्देशन तथा निर्देशिका सुधारका लागि भइरहेका पहलका बारेमा जानकारी गराए।
लामिछानेले व्यवसाय सञ्चालनमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै व्यवसायीले कानुनी प्रक्रिया पूरा गरेर वातावरणमैत्री ढंगबाट उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए। साथै, सदस्य व्यवसायीलाई आइपर्ने समस्या समाधानका लागि संघले सम्बन्धित निकायसँग समन्वय गर्दै आएको बताए।
स्वागत मन्तव्य दिनु हुदै संयोजक बिसुरालले अभिमुखीकरण कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो । करिब ३० जना ह्याचरी व्यवसायीको सहभागिता सो कार्यक्रमको सञ्चालन शिवप्रसाद बरालले गरेका थिए।
संघका अनुसार वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ र व्यवसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका, २०७१ अनुसार ह्याचरी, प्यारेण्ट फार्म तथा ग्राण्ड प्यारेण्ट फार्मले अनिवार्य रूपमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी प्रमाणपत्र लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।