उहिलेको कथा ः सुनिल उलक

हुन त साधारण लाग्छ यो क्यासेट प्लेयर हेर्दा । तर मसंग यसको गहिरो कथा गाँसिएको छ । तसर्थ लेख्न मन लाग्यो ।
यो नेशनल प्यानासोनिकको ५३१० मोडलको क्यासेट प्लेयर हो । जापानमा बि.सं. २०३१ सालतिर बजारमा निस्किएको थियो । त्यसको केही समयमा नै हङकङका लाहुरेहरुको साथ नेपाल भित्रिन थाल्यो । लाहुरे छुट्टीमा नेपाल फर्कदा बिभिन्न सामानको साथ यो पनि साथ लिएर आएका हुन्थे । जसले गर्दा नेपालमा पनि निकै प्रचलित भएको थियो । नेपालीहरुले पनि ५३१० मा गीत घन्काउन पाएका थिए ।

यो क्यासेट प्लेयर २०३४-३५ सालतिर हाम्रो पनि घरमा बज्न थालेको थियो । तर यो क्यासेट प्लेयर हाम्रो हात लाग्नुको पछाडि मिठो भनौ वा नमिठो कथा पनि गाँसिएको थियो । हामीले यो क्यासेट रहरले होइन बाध्यताले लिएका थियौ । अझ भनौ भने निकै महंगो परेको थियो हाम्रो लागि यो क्यासेट प्लेयर ।

२०२२-२३ सालतिर मेरो ठूलोबुबाले मेरो बुबालाई निकै लालच देखाएर पोखरा नजिकैको अर्घौमा रहेको करिव १२० रोपनी जमिनमा हेरचाह तथा खेतीपाटी गर्ने जिम्मा दिनुभएको थियो । ठूलो बुबाले आधा जमिन हामीलाई दिने लालच दिए पछि बुबा आफ्नो भएको ब्यापार छोडेर, ब्यापारमा भएको पैसा बोकेर अर्घौ हानिनु भएको थियो । २ हल गोरु किनेर, २ जना हली पनि पालेर २-४ जना हेरालो समेत राखेर बुबा अर्घौ नै बस्न जानुभयो । जमिनको चारैतिर पर्खाल लगाएर समेत जमिन सुरक्षित बनाउनु भयो । एक डेढ वर्ष बित्यो तर ठूलो बुबाले जमिन दिन नै खोज्नु भएन । दिइ हाल्छु भन्ने तर दिन चाहना नगरे पछि बुबा फेरी सबै त्यागेर पोखरा फर्कनु भयो ।

ठूलो बुबा समय समय पोखरा आउनु हुन्थ्यो । अर्घौ पुगेर जमिनको बारेमा बुझ्नुहुन्थ्यो । छिमेकीहरुसंग सरसल्लाह गरि फेरी बिराटनगर फर्कनु हुन्थ्यो । बुबालाई लालच देखाएको १० वर्ष पछि ठूलो बुबाले हामी कसैलाई पनि थाहा नै नदिइ बिस्तारै जमिनहरु बेच्न थाल्नुभयो । यो कुरा थाहा पाउनुभए पछि आमा निकै रिसाउनु भयो । अन्तमा ठूलो बुबाले दश रोपनी जमिन बुबालाई दिन तैयार हुनुभयो । हामी सबै खुशी भयौ । कागजपत्र गरिसक्नु भएको थिएन । तर पछि थाहा भयो । ठूलो बुबाले हामीलाई दिन्छु भनेको जमिन मोहीको हक लागेको जमिन रहेछ । मोहीले कुनै हालतमा पनि जमिन छोड्न चाहेन ।

त्यही नजिकै रहेको सम्पन्न लाहुरे शायद यहि मौकाको ताकमा थियो । उसले बुबालाई फकाएर १० हजार दिन्छु । उसंग म आफै मिलाउँछु भनेर फुत्कायो । करिव ५० वर्ष अगाडि १० हजार नै हात लागेको भए पनि निकै काम लाग्थ्यो । तर लाहुरेले यहि नेशनल प्यानासोनिक क्यासेट प्लेयरको रु २८०० मोल तोकेर अर्को २०० थपेर अहिले ३००० लिनु अरु महिनाको १००० गर्दै दिन्छु भन्यो । ठूलो बुबाले दिनै नखोजेको जमिनमा अलि अलि भए पनि पैसा हात पर्ने भयो भनेर बुबाले हुन्छ भन्नुभयो ।

अहिले त्यो जमिनको मुल्य रोपनीको एक करोड भन्दा बढि पर्दछ । हामीले करिव ३ रोपनी बराबरको मुल्यमा यो क्यासेट प्लेयर पायौ । जसले गर्दा यो क्यासेट प्लेयर आजको मुल्यले सोच्ने हो भने ३ करोड भन्दा बढि पर्यो । यदि त्यो समय त्यो लाहुरेले एकमुष्ठ दश हजार दिएको भए र त्यो पैसाले कतै जमिन किनेको भए पनि अहिले दश करोड भन्दा बढि पर्थ्यो । तर ……….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!