दलाल पूँजीपतिले देशको हीत गर्दैन ० कृष्ण प्रजापति

हाम्रो देश २००७ सालमा प्रजातन्त्र आएदेखि झन झन दलाल पूँजीपति वर्गको हातमा पर्न गएको छ । हिजो राष्ट्रिय पूँजीपति वर्गले देशमा आफ्नो उत्पादन बढाउनका लागि विभिन्न खालका कठीन कार्यहरु गरेर ब्यापार ब्यवसाय बढाउने प्रयास थालेको थियो । सो समय सम्म त सुन प्रति तोला सात हजारमा पाइन्थ्यो । पेट्रोल पनि एक लिटरको ४६ रुपियाँमा पाउने गरेको थियो । भारत सरकार र चीन सरकारले बनाएको कतिपय कलकारखाना, राजमार्ग, विद्युत गृहहरु सबै सुसञ्चालन भएर राष्ट्रिय उन्नति भइरहेको थियो । पछि गएर ती राष्ट्रिय गौरवका चीजहरु सबै पूँजीवादी सरकारले विदेशी पूँजीपति वर्गलाई सुम्पन थाले पछि भने झन झन बस्तुको मूल्य बढ्ने गरेको हो । त्यसैले पनि आज देशमा अन्तर्राष्ट्रिय प्रभाव बढेर वा भारतीय एकाधिकार पूँजीको हैकम बढेर देश झन झन कंगाल हुने मार्गतिर अग्रसर भइरहेको छ । वास्तवमा देशी विदेशी शक्तिले राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर गर्न खोजेपछि त्यसको केही उपाय भेट्टाउनको लागि समेत हामीलाई कठीन भइरहेको छ ।

आज प्रधानमन्त्रीले चीन भ्रमण गरी चिनियाँ बजारबाट नेपाली बजार प्रवद्र्धनको लागि सामान भित्रयाउने, कोदारी राजमार्गको स्तर उन्नति गरी पुनः सञ्चालनमा ल्याउने, मेट्रो रेलको तयारी लगायतका कुराहरु अगाडि सार्ने प्रयास गरिरहेको छ । हिजोका चिनियाँ सहयोग भृकुटी कागज उद्योग, बासबारी छाला जुत्ता कारखाना, भक्तपुर ईट्टा टाइल कारखाना, हरिसिद्धि ईट्टा कारखाना भारतलाई कौदीको मूल्यमा सुम्पिएको कुरालाई ध्यानमा राखी चीनले हामीलाई मूल्यांकन गरेको खण्डमा चीनले पुनः हामीलाई सहयोग गर्ला भनेर नसोचे पनि हुन्थ्यो । तर यहाँ हाम्रो दुःख सुख प्रति जहिले पनि सद्भाव राखी छिमेकी देशले गर्नु पर्ने धर्म र कर्तब्य पूरा गर्नको लागि सदा सर्वदा लालायित भइरहेको देश भएका कारण चीनले यो समयमा त्यो कुरा गर्ने छैनन् । त्यो उनको महानता नै हो । संसारमा गुण गर्नेलाई मात्रै गुण गर्ने होइन कि आफू प्रति सद्भाव राखी मागेर हिड्नेहरुका लागि पनि गुण गर्न जान्नेहरु धेरै छन् । चीन एउटा छिमेकी देशहरु प्रति तथष्ट भएर काम गरिरहेको पुरानो देश हो । त्यसैले पनि नेपाल प्रति उनको सद्भाव सदा कायम रहने गरेको हो ।

जनजीवन र समाजमा भइरहेको धनी, गरिब, समानता, असमानता वा पूँजीवादी बस्तोबस्त र समाजवादी बन्दोबस्त बारे साहित्य, कला र संगीत मार्फत् जनमानसमा साहित्यकारहरुले प्रचार प्रसार गरिरहन्छन् । कवि, कलाकार र साहित्यकारहरुले त्यस्ता विभिन्न बाधा, अड्चनहरुलाई लिएर हिजो जसरी संसारलाई नेतृत्व गरिरहेको थियो । आज पनि विचार र धारणलाई अगाडि सारी साहित्यकार कलाकारहरुले समाजलाई नेतृत्वदायि भूमिका निर्वाह गरिरहेका छन् । यही क्रममा देश भित्र भइरहेको विभिन्न खालका उथल, पुथल, सामाजिक परिवर्तन र नयाँ विकसित समाज निर्माणको लागि भइरहेका विभिन्न खालका गतिविधिहरुमा हामी संलग्न भइरहेका हुन्छौं । साहित्यकार र कलाकारले पनि विदेशी पूँजी र दलाल पूँजीपति वर्गको विरोध गर्न सक्नु पर्दछ । हिजो साना तिना राष्ट्रिय पूँजी परिचालन गरेर भएपनि यहाँ उत्पादन बढाउने गरिरहेको थियो । अहिले आएर त्यो खालको अवस्था समाप्त भइसकेको छ । विदेशीले सहयोग नगरेसम्म केही पनि योजना वा परियोजना सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भइरहेको छ ।
विदेशी पूँजी वा दलाल पूँजीपति वर्गको हीतमा कार्य गर्नको लागि लालायित हाम्रा नेताहरुको स्वभावले राष्ट्रिय पूँजीपति वर्गको हीत हुन सक्दैन । बाहिरी देशबाट केही गर्नको लागि दिने पूँजी वा पैशा हामीलाई सहयोगको रुपमा होइन कि उनीहरुलाई काम सजिलो बनाउनको लागि मात्रै दिने हो । त्यसैले पनि राष्ट्रियताको भावना भएका कतिपय राजनीतिक पार्टीहरुले हिजो मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको खुल्लेआम बिरोध गरेको हो । तर घुमाई पिराई त्यसको सडकमै आएर विरोध गरेको शक्ति माओवादीले एमालेसंग खेल खेलेर एमसीसीलाई षडयन्त्रपूर्वक पास गरेरै देखायो । त्यसैले पनि हिजोका उनीहरुको धारणा र अहिलेको ब्यवहार देख्दा देखाउने एउटा दाँत र चपाउने अर्को दाँत रहेको स्पष्ट हुन आउँछ । ९० प्रतिशत सांसदहहरुले कडा शब्दमा विरोध गरिरहेको एमसीसीलाई ९५ प्रतिशत सांसदहरु मिलेर एकमतले पारित गर्नु भनेको यो देश फेरि पनि दालाल पूँजीपति वर्ग र विदेशी पूँजीको भरमा चलेको सबुत प्रमाण हो ।

यसरी नेपाली जनतालाई सुसूचित गर्नु पर्ने थुप्रै विषयलाई लिएर हाम्रा साहित्यकार, कवि कलाकारहरुले केही चीज अगाडि सार्न सक्नु पर्दछ । आफ्नो ब्रम्हले देखिएको, देशमा देखा परिरहेको वास्तविकतालाई स्पष्ट रुपमा देखाउन सकियो भने मात्रै हाम्रा राजनीतिक नेता, मन्त्रीहरु केही मात्रामा भएपनि सचेत हुने थियो कि । होइन भने हिजो जसरी राष्ट्रिय सम्पत्तिको रुपमा रहेको थुप्रै राष्ट्रिय गौरवका चीजहरु केही पनि नहुने गरी विदेशीको हातमा सुम्पेको थियो, अहिले पनि नहोला भन्न सकिन्न । किन भने अमेरिकी सेना र नेपाली सेनाको बीच संयुक्त अभ्यास गर्ने निहूँमा अहिले अमेरिकी सेनाले नेपाली धर्तीमा पदार्पण गरिहेको अवस्था छ । सहयोग गर्ने नाममा हामी कहाँ के पो हुने हो भन्ने हामीलाई शंका छ । सहयोग दियो भन्दैमा हामीले कसैको पनि आँखा चिम्लेर सहयोग लिनु हुन्न भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । अगाडिको कुरा मात्रै हेरेर पुग्दैन, भोलि हामीलाई उनीहरुले कस्तो खालको ब्यवहार गर्ने हो भनेर पनि चाल पाउनु पर्दछ । कुटनीतिक मर्यादालाई उल्लंघन नगरी सहयोग लिनुपर्दछ ।

नेपाललाई भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको प्रभावमा पार्नको लागि प्रजातन्त्र पुनः बहाली भएदेखि यहाँ भयंकर रुपमा तयारी त अगाडि बढेकै भयो । त्यसमा पनि बजार बाऊ बढेका कारण, भ्रष्टाचार र अनियमिततालाई सरकारले नै प्राथमिकता दिएका कारण सहज रुपमा जीवन निर्वाह गर्नको लागि समेत इमान्दारपूर्वक जिउने, जागिरबाट जीवन यापत गर्ने र सामान्य ब्यापार ब्यवसायबाट आफ्नो जीवन निर्वाह गर्ने क्षमता नहुने अवस्था सिर्जना भइरहेको छ । यस्ता अति गम्भीर चीजलाई ध्यानमा राखी हेर्ने बखत हिजो भन्दा आज हामी घटिया अवस्थामा जीवन जिउनु पर्ने स्थिति आइपरेको छ । संयमित भएर केही प्रगति होला कि भनेर बसिरहेकाहरु समेत आफ्नो ब्यापार ब्यवसाय ठप्प रहेका कारण बिस्थापित हुन थालेका छन् । राष्ट्रिय पूँजीपति वर्गको उत्थान र विकास गर्ने नीति सरकारले बाहिर नल्याएसम्म यहाँ त्यस्तै रहनेछ ।

हिजोसम्म हामी सामान निर्यात गर्न सक्षम थियौं । यहाँका उत्पादन सबै यहाँ मात्रै उपयोग गरेर सकिन्नथ्यो । बाहिर लगेर बेच्न समेत पुग्थ्यो । अब त्यस्तो अवस्था रहेन । देशमा पूजीवादी ब्यवस्थाको विकास संगसंगै विदेशमा गएर नेपाली युवाहरु श्रम बेच्न जाने प्रबृत्तिले झन बढी त्यस खालको अवस्था सिर्जना भइरहेको हो । यस्तो स्थितिलाई हेर्ने हो भने यो दलाल पूँजीवादी सरकारले हाम्रो देशलाई तत्काल विदेशी पूँजीपति वर्ग र विदेशी पूँजीबाट उन्मुक्ति देला जस्तो देखिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!