३० जना प्रहरी कर्मचारीलाई विपद व्यवस्थापन आधारभूत तालिम प्रदान

काठमाडौं, २०८०-०५-२६:
नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ३१औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
उक्त तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक बिकले तालिमले प्रशिक्षार्थीहरूको व्यक्तिगत जीवनशैलीमा सकारात्मक भूमिका खेल्ने तथा कार्यक्षेत्रमा थप उर्जा प्रदान गर्ने चर्चा गर्दै तालिममा हासिल गरेका ज्ञान एवम् सीपलाई प्रकोप तथा विपद्को समयमा खोजी तथा उद्दार कार्यमा नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत साउन ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विपद व्यवस्थापन सम्बन्धि श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!