भाषा संस्कृति सभ्यताको मूल पक्ष : कृष्ण प्रजापति

संसारका मानिसहरु जंगली युगबाट सभ्यता र संस्कृतिको विभिन्न चरण पार गर्दा गर्दै आज यतिको सम्भ्रान्त हुनपुगेको हो । जंगली असभ्य युग पार गरी बिस्तारै ढुंगे युग भएर पशुपंक्षी पाल्ने र खेतीपाती गर्ने गरी कृषि युग पार गरे । आज आणविक युगसम्म पुगेर पनि हामीसंग त्यति बेलाका विभिन्न खालका गुण अवगुणहरु भने कायमै छन् । एकले अर्काको कुरा पटक्कै नतेर्ने, अरुको राम्रो गुण भएर पनि त्यसको कुनै अनुकरण नगर्ने र आफ्नो गुण दोषहरु सबै अरुलाई लाड्ने जस्ता जंगली प्रबृत्ति हामीसंग अहिले पनि मौज्दात छन् । यो एक हिसावले सभ्यता र संस्कृतिको बीचमा देखिएको अनमेल चीज नै हो । हजारौं वर्षसम्म अभ्यास गरी एकै थलोमा बसेर मानिसहरुले सहज ब्यवहार सञ्चालनको लागि प्राप्त हुन आउने चीज भनेको भाषा हो । संसारमा हजारौं किसिमको भाषा विकास भएका छन् । नेपालमा मात्रै एक सय तीस वटा भाषाहरु बोल्ने जाति जनजातिहरु रहेको तथ्यांक बाहिरिएको छ । हाम्रो जस्तो सानो मुलुकमा त सय भन्दा बढी भाषा बोल्नेहरु छन् भने अन्य संसारका ठूल ठूला देशहरुमा हेर्दा हजारौं भाषा बोल्ने जाति हुने भइनै हाल्यो । त्यसो भएर पनि आफू जुन भाषा बोल्ने हो त्यसको संरक्षण गर्ने कार्य आफूहरुबाटै पहल नहुने हो भने अरुले त्यो भाषालाई बचाउन सहयोग गर्ला भन्न सकिन्न ।

नेपालमा रहेका विभिन्न भाषाहरु मध्ये नेपालभाषा र मैथिली भाषालाई धनी भाषा र साहित्यले समेत सुसज्जित भाषाको रुपमा उत्कृष्ट मानिएका छन् । काठमाडौं उपत्यका भित्र सृष्टि भएर यहाँबाट विभिन्न जिल्ला र देशको सिमाना बाहिर समेत पुगेको भाषा नेपालभाषा हो । यो भाषा पहिला राजा महाराजाहरुले समेत आफ्नो कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने गरिन्थ्यो । त्यसैले पनि कुनै बखत यो भाषाबाट नाटक लेखेर दरवार भित्र र बाहिर समेत प्रदर्शन गर्ने चलन आएको थियो । राजा महाराजाको जन्म दिन मनाउने बखत, राज्यभिषेक हुने बखत र केही त्यस्तै विवाह समारोह या पास्नी गर्ने बेलामासमेत नाटक देखाउने गरिन्थ्यो । रणजित मल्ल, जितामित्र मल्लदेखि मल्ल राजाहरुले भक्तपुरमा थुप्रै नाटक र गीतहरु नेपालभाषामा लेखेर गएको इतिहासले देखाउँछ । यो प्रभाव भने नेपालमण्डल भित्र मैथिली समुदायबाट परेको देखिन्छ । मल्ल राजाहरुको बैवाहिक सम्वन्ध समेत मैथिली समुदायसंग नजिकै रहेको देखिएकाले हिजो काठमाडौं उपत्यकाको सभ्यता जाज्वल्यमान पार्नको लागि बाहिरको प्रभाव पनि रहेको थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

काठमाडौं उपत्यका भित्रको जीवनशैली र भाषा संस्कृतिको अध्ययन गर्ने क्रममा यहाँ विश्वभरका सभ्यता र संस्कृति भन्दा अचम्म लाग्दा निकै धेरै सांस्कृतिक चीजको विकास भएको देखिन्छ । उपत्यका भित्र पनि तीन शहर भक्तपुर, काठमाडौं र पाटन अलग्ग राज्य विभाजन भइसकेपछि भने यहाँका राजाहरु बीच काष्ठकला, प्रस्थरकला र अन्य मूर्त कला संस्कृतिको प्रतिश्पर्धा नै चलेको थियो । त्यसले गर्दा पनि त्यो बेला काठमाडौंको भन्दा पाटन र पाटनको भन्दा भक्तपुरको दरवार क्षेत्र राम्रो बनाउने होडबाजीले यी तीन शहरलाई बैभवशाली गरिदिएको पाइन्छ । तर आज आएर संसार आणविक हतियारको होडबाजीको कारण विश्वको मानव सभ्यता समेत निमित्यान्न हुने हो कि भन्ने त्रास उत्पन्न भइरहेको छ । यस्तो बखत हाम्रो देशमा आज भन्दा सयौं वर्ष अगाडि भाषा, संस्कृतिको विकास गरी एक हिसावले उपत्यकालाई अनुकरणीय शहरको रुपमा विकास गरेको पाइन्छ । हामी अब ती सभ्यता र संस्कृतिको संरक्षणतिर लाग्नु आवश्यक छ ।

मानवीय जीवनमा भाषा संस्कृति मूल पक्ष हो । भाषाले एक हिसावले सञ्चारको काम गर्ने गर्दछ । आफ्नो दुःख, कष्ट र मनको कुरालाई अभिब्यक्त गर्न पाएपछि मानिस शान्त हुने गर्दछ । त्यसो गर्न नसकिएपछि वा गर्न नदिएपछि बिद्रोही भएर निस्कने गर्दछ । यो मानवीय स्वभाव हो । भाषा जस्तै संस्कृति र सभ्यताले मानिसहरुलाई उनको क्षमता र चरित्र देखाउने गर्दछन् । संस्कृति भन्नाले खाने, बस्ने, बाँच्नु पर्ने कारण उनले देखाउने गरेका हरेक ब्यवहारहरु हुन् । जीवन शैली पनि संस्कृतिको एक पक्ष हो । उपत्यका भित्र लामो समयदेखि विभिन्न खालका अनुकरण गरी सिक्दा सिक्दै आफ्नो जीवनलाई उच्चस्तरसम्म पुर्याएका नेवाः जाति हुन् । नेपालभाषा यहाँको मूल भाषा हो । साथै भोट बर्मेलीको भाषा परिवारको नेपालभाषा सहित तामाङ भाषा पनि एउटै भाषा परिवारको संगै रहेका भाषाहरु हुन् । तामाङ समुदायले घेरिएको उपत्यकाको बीचमा नै मौलिक नेपालभाषाको विकास भएको थियो । लामो समयसम्मको भाषिक ब्यवहार पछि यो दुई भाषा अलग्ग विभाजन हुन पुगे झैं सभ्यता र संस्कृति पनि फरक रहन पुग्यो । साथै नेपालको पूर्वमा रहेका लिम्बु जातिको राई भाषा, उत्तर क्षेत्रमा भोटेहरुको मौलिक भाषा लगायत दक्षिण पूर्वमा भने मैथिली समुदायको आफ्नै किसिमको भाषा विकास भएर गएको पाइन्छ ।

सबै भाषाको अनुसिलन गर्न सकेको खण्डमा हाम्रो देश उच्च धरोहर भएको देश हो भन्ने देखिन्छ । जब भाषालाई गौण गर्ने गरिन्छ, त्यति बेला यहाँ केही चीज पनि उच्च हुन सक्दैन । यहाँको बैभवशाली उच्च धरोहर एउटै भाषा बोल्ने नेवार समुदायकै देन हो । नेपालको संस्कृति भनेकै नेवाः जातिको संस्कृति नै हो । यहाँ यतिको भब्य सांस्कृतिक गतिविधि हुने गर्दछ कि त्यस खालको संस्कृति संसारमा कतै पनि भेटिन्न । बिस्केट जात्रा, कुमारी यात्रा, मछिन्द्रनाथको रथ जात्रा यसका केही उदाहरणहरु मात्रै हुन् । त्यसैले यहाँ के छैन र भनी प्रश्न गर्न सकिन्छ । यतिको उच्च सभ्यता, संस्कृति र उच्च मर्यादामा जिइरहेका हामीहरु लामो समयसम्म तिमीहरु आफ्नो भाषा बोल्न पाउँदैनस् भनी राणा कालदेखि पंचायती काल र बहुदल आएर पनि हामीलाई हेला होचा गर्ने क्रम जारी रह्यो । बल्ल हालै संघीयता आएको केही वर्ष पछि भाषा आयोगको सिफारिस अनुरुप बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई खस् नेपाली भाषा सरह कामकाजीको भाषाको रुपमा मान्यता दिने विधेयक पारित गरेको छ । हामी जस्ता भाषा जातिको लागि आवाज उठाइरहेकाहरुको लागि यो एक ऐतिहासिक क्षण भएर देखा परेको छ । त्यसको संरक्षण र विकासको लागि भने अझ सतर्क भएर अगाडि बढ्नु पर्ने देखिन्छ ।

शब्द र भाषा भित्र हाम्रो संस्कृति, सभ्यता र अनेकौं चीज समेत लुकिरहेका हुन्छन् । त्यसैले पुरानो स्थानहरुको नाम, पुराना हाम्रा पुर्खाको चीज भनेको हाम्रो अमूल्य देन हो । यसको रक्षा गरी भावी सन्तती मार्फत् त्यसले एक खालको अनुकरणीय कार्य भइरहेको देखाउनु पर्दछ । होइन भने हामी एउटा मार्गतिर अगाडि बढिरहेका हुनेछौं । नयाँ पुस्ता त्यसको विपरित अगाडि जान पनि पछि पर्दैनन् । वर्तमान युग सञ्चार युगको रुपमा देखा परिरहेको प्रशारण युग भएकाले हामी नेवाः समुदायले पनि यसको भरपुर प्रयोग गरी हाम्रो भाषा संस्कृतिको रक्षा गर्ने कार्यतिर निरन्तर अगाडि बढिरहेनु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!