कास्की , १७ पुस, २०८०ः
पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका कुश्मा प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई मङ्गलवार जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायधीश ऋषिराज आचार्यको इजलासले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनु भयो ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन रजिस्ट्रारको जिम्मेवारी सम्हालेका बेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए ।
स्याङ्जाका बुद्धिसागर पौडेललाई मङ्सिर २९ र नुवाकोटका गोपाल खनाललाई प्रहरीले मङ्सिर २८ गते पक्राउ गरेको थियो ।
त्यसअघि नै पोखरा २५ का राजु बराललाई पक्राउ गरेको थियो । कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।
मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित विभिन्न मितिमा ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । वडाध्यक्ष सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो ।
उनीहरू हालसम्म फरार सूचिमै छन् । पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप छ ।