प्रदेश सरकारले स्वास्थ्य, कृषि र इन्जिनियरिङ शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

बनेपा, पुस २७ गते।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले स्वास्थ्य, कृषि र इन्जिनियरिङ शिक्षालाई जोड दिएको बताउनुभएको छ। जिल्ला खेलकुद विकास समितिको भवन तथा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले प्रदेश सरकारले शिक्षा, खेलकुद र उत्पादनलाई जोड दिएर कार्यक्रमहरु अघि बढाएको बताउनुभयो।

कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले नेपालमा डाक्टर, नर्स अध्ययनका लागि हजारौँ विद्यार्थीले परीक्षा दिए पनि थोरैले मात्रै पढ्न अवसर पाउने गरेको बताउँदै प्रदेश सरकारले उच्च शिक्षाको क्षेत्रमा विश्वविद्यालय बनाउने क्रममा रहेको बताउनुभयो। उहाँले डाक्टर र नर्स पढ्न चाहने विद्यार्थीले पढ्न पाउनुपर्ने बताउनुभयो।

उहाँले काभ्रेपलाञ्चोकमा कृषिमा दक्ष जनशक्ति उत्पादन हुने गरी कम्तिमा एक÷दुई हजार रोपनी जमिन सहितको कृषि क्याम्पस स्थापना गर्ने विषयमा जिल्लाबाट निर्णय भएको खण्डमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो।

उहाँले जिल्लामा कृषि उतपादनमा सहयोग पुग्ने ठुला सिंचाईका आयोजना सञ्चालन तथा यातायात कार्यालय स्थापना गर्न प्रदेश सरकारले काम बढाएको बताउनुभयो। उहाँले प्रदेश सरकारले नै मुल विकासको नेतृत्व गर्ने बताउँदै प्रदेश सरकारले प्रदेशभित्रका ८५ वटा स्थानीय तहमा उत्पादनको पकेट क्षेत्र बनाउनका लागि स्थानीय तहमा भएका सम्भावनाको बारेमा विवरण माग गरिएको बताउनुभयो।

उहाँले प्रदेश सरकारले सामाजिक रुपान्तरणको रुपमा खेल क्षेत्र हुनुपर्छ भन्ने हेतुले शिक्षा नीति बनाउँदा माध्यमिक तहसम्मको शिक्षालाई आवासीय मोडलमा लैजाने तथा माध्यमिक तहमा खेलाडी प्रशिक्षक राख्ने नीति अघि बढाएको बताउनुभयो।

कार्यक्रममा प्रदेश श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकारले खेलकुदको क्षेत्रमा धेरै काम गरेको बताउँदै त्यसको लागि पूर्वाधार निर्माण लगायतको काम गर्न बाँकी रहेको बताउनुभयो।

कार्यक्रममा प्रदेश सांसद रत्न ढकाल, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले खेलकुदको महत्वको बारेमा आफ्नो भनाइ राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!