मध्यपुर थिमि, पुष २९, २०८०ः
मध्यपुर थिमि नगरपालिकाको नवौं नगरसभा नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन । नेकपा एमालेबाट निर्वाचित वडा न ४ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठको नेतृत्वमा वडा न ७ का अध्यक्ष कृष्ण कुमार प्रजापति लगायत उपस्थित ११ जना जनप्रतिनिधिहरुले नगरसभा बहिकार गरेका थिए।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल संचालन तथा ब्यबस्थापन बिधेयक २०८० प्रति असहमती जनाउदै सभा बहिष्कार गरेको वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठले जानकारी दिए। अस्पतालको आईसियु भवन, मेडिकल वार्ड, ग्यास प्लान्ट र पार्किङ्ग लागायतका संरचनाहरु वडा न ४ मा रहेकोले ४ न वडा अध्यक्ष पनि अस्पताल ब्यबस्थापन समितिको पदेन सदस्य हुनु पर्ने श्रेष्ठको माग रहेको छ। अस्पतालको शुरुवातमा ९ जनाको ब्यबस्थापन समिति रहेकोमा हाल ११ जना रहेको र समय संग संगै एक दुई जना थपिदैमा केहि फरक नपर्ने बताउदै श्रेष्ठले मिले सम्म छिमेकी वडा न २ र ६ का अध्यक्षहरुलाई पनि पदेन सदस्य राख्नु पर्ने बताए।

उहाले आफुहरु अस्पताल सपार्नेकै लागि ब्यबस्थापन समितिमा रहन चाहेको बताउदै आफु जनप्रतिनिधि नहुदा पनि अस्पताललाई माथि उठाउन योगदान पुर्याएको बताउदै नगर सभाध्यक्षले आफुहरुको मागलाई पुरै बेवास्ता गरेको बताए।
तर नगरप्रमुख सुरेन्द्र श्रेष्ठले भने सो वि्षयमा अरु वडाबाट पनि माग आएकोले सबैलाई समेट्न नसकिने तथा समिति ठूलो हुने बताउदै उपसमितिमा समेटेर लाने कुरा राखेका थिए। सोहि कुरा प्रति असहमति जनाउदै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरेको वडा अध्यक्ष श्रेष्ठले नौलोआयाम डटकमलाई जानकारी दिए।