काठमाडौँ, माघ ७, २०८०ः
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन लाइसेन्सको समस्या स्थायी रुपमा समाधान हुने गरी काम भइरहेको बताउनुभएको छ ।
सिंहदरबार स्थित मन्त्रालयमा आज प्रदेश सरकारका भौतिक मन्त्रीहरूसँगको समन्वय बैठकमा मन्त्री ज्वालाले सवारी लाइसेन्स लिन नक्कली परीक्षार्थी सहभागी भएकोबारे छानविन समितिले अनुसन्धान गरिरहेको र दोषीलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो । पुरानो ठेक्का ट्र्याकमा ल्याइएको, छपाई बाँकी रहेको १४ लाख कार्डमध्ये अब ६ लाख कार्ड तत्काल छपाइमा जाने तयारी रहेको पनि उहाँले जानकारी गराउनुभयो ।
यस्तै इम्बोस्ड नं प्लेट, लाइसेन्स वितरण, अनलाइन प्रणालीमा सेवा, दुर्घटना न्यूनीकरण, विद्युतीय सवारी दर्ता प्रणाली व्यवस्थित बनाउने, क्षेत्राधिकार र ऐन निर्माण गर्ने विषयहरूमाथि छलफल भएको थियो ।
छलफलमा सहभागी सातै प्रदेशका मन्त्री तथा सचिवहरूले प्रदेश मातहत लाइसेन्स वितरण गर्न र नक्कली परीक्षार्थी प्रवेश नदिन ट्रायल दिने दिन परीक्षार्थीको पुनः बायोमेट्रिक मार्फत प्रमाणित गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका सुझावहरू राख्नुभएको थियो ।