भक्तपुर, माघ २९, २०८०ः
तीन दशक भन्दा बढी समयको ईतिहास बोकेको भक्तपुरको भक्तपुर युवा टीमको आयोजनामा तेस्रो भक्तपुर कप-२०८० हुने भएको छ। आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको हो। टीमको आयोजनामा यही २०८० फागुन १८ गतेदेखि २६ गतेसम्म महेश्वरी खेल मैदान, भक्तपुरमा खुला फुटबल प्रतियोगिता भक्तपुर कप-२०८० सञ्चालन हुनेछ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगिताको विजयी टोलीले ट्रफीसहित नगद रु. १,२५,०००/- (एक लाख पच्चीस हजार रूपैयाँ मात्र) र उपविजेताले ट्रफीसहित नगद रु.६५,०००/- (पैसाठी हजार रुपैयाँ मात्र) पुरस्कार प्राप्त गर्नेछ भने प्रतियोगिताको प्रत्येक खेलमा एक जना उत्कृष्ट खेलाडी र एक जना उदयीमान खेलाडीलाई पनि सम्मान गरिनेछ ।
पत्रकार सम्मेलनमा भक्तपुर युवा टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवां, सल्लाहकार एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्व अध्यक्ष तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिताका संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका विविध विषयहरुबारे चर्चा गरेका थिए ।
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले प्रतियोगिताको लागि आबश्यक पर्ने खेल सामाग्री उपलब्ध गराउने बताए।
मित्रता, अनुशासन र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ वि.स. २०५० सालमा स्थापित भक्तपुर युवा टीमले विभिन्न समयमा विविध खेलकुदको आयोजना गर्नुका साथै विभिन्न क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा खेलाडीहरूलाई सहभागी गराएर विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, रेफ्री उत्पादन गर्न सफल भएको छ । स्थापनाकालदेखि खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएको टीमले विगतमा कोभिड १९ को सामान्य अवस्थामा पुगेपछि २०७८ फागुन ६-१४ गतेसम्म प्रथम भक्तपुर कप-२०७८ सम्पन्न गरेको थियो भने दोस्रो भक्तपुर कप-२०७९ (२०७९ फागुन ५०१३) गतेसम्म सम्पन्न भएको थियो।
