काठमाडौँ, जेठ १०, २०८१ः
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको स्थापनापछि मुलुकले शिक्षा, स्वास्थ्य, सञ्चार, ऊर्जा तथा पूर्वाधार क्षेत्रको विकासमा फड्को मार्दै गएको बताउनुभएको छ ।
गणतन्त्र दिवस २०८१ को अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार शीर्षकको तस्बिर प्रदर्शनीको आज काठमाडाँैमा शुभारम्भ गर्नुहुँदै मन्त्री शर्माले यस्ता प्रदर्शनीले गणतन्त्रपछि भएका महत्वपूर्ण कामहरूका बारेमा जनतामा सन्देश प्रवाह हुने बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले गणतन्त्रप्रति नकारात्मक टिका–टिप्पणीहरू हुने गरे पनि मुलुकमा कानूनको शासनको स्थापना र तीन तहको सरकारको माध्यमबाट गाउँ–गाउँ सम्म पूर्वाधारको विकास हुँदै जाँदा जनताका बीचमा सकारात्मक सन्देश जान थालेको बताउनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्रकुमार ठाकुरले पछिल्लो समय नेपालको ऊर्जा, सञ्चार तथा पूर्वाधारका क्षेत्रहरूमा भएका महत्वपूर्ण कामहरू गणतन्त्रको उपलब्धिको रुपमा रहेका बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्रको परिणामलाई आत्मसात् गर्न तस्बिर प्रदर्शनीले प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई र कार्यकारी व्यवस्थापक शितलप्रसाद महतोले मातृभाषा सेवा समाचारको सुरुवात गरेर राससले नेपालका विभिन्न समुदायलाई जोड्ने गरी काम गरिरहेको उल्लेख गर्नुहुँदै गणतन्त्र पछिका उपलब्धिलाई आत्मसात् गर्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास जनाउनुभयो ।
राससको तस्बिर प्रदर्शनीमा गणतन्त्रको स्थापनापछि भएका महत्वपूर्ण कामहरूका ९५ वटा तस्बिरहरू राखिएका छन् भने सो प्रदर्शनी जेठ १६ गतेसम्म चल्ने छ । राससले यसअघि गणतन्त्र दिवसकै अवसरमा गत वर्ष हाम्रो संस्कृति हाम्रो सम्पदा शीर्षकमा तस्बिर प्रदर्शनीको आयोजना गरेको थियो