अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने गृहमन्त्रीको चेतावनी

विराटनगर, २७ जेष्ठ, २०८१ः

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।

विराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबिचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएको बताउनुभयो ।

सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने भन्दै उहाँले कार्यशैलीको निर्मम समीक्षा गर्न आग्रह पनि गर्नुभयो। कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरे मात्र पनि प्रतिफल आउने उहाँको भनाइ थियो।

‘भन्सारमा कसरी अवैध काम भइरहेको छ? गैर–व्यावसायिक काममा को–को संलग्न छन्? उनीहरू कानूनको कुन कमजोर पक्षको फाइदा उठाइरहेका छन्?’ अधिकारीहरूलाई प्रश्न गर्दै मन्त्री लामिछानेले भन्नुभयो– ‘सबै कुरा जान्दा–जान्दै पनि गलत क्रियाकलाप नियन्त्रण गर्न नसक्नुबारे गम्भीर समीक्षा गरेर सुधारका कार्ययोजना बनाउनुस्।’

जिल्लामा अवैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरू त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री लामिछानेले अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी दिनुभयो।

खुला सीमाका कारण अवैध बाटोबाट विदेशी उत्पादन भित्रिदा नेपाली उत्पादनले बजार नपाउने समस्याप्रति गम्भीर बन्न र बजार अनुगमन बढाएर आन्तरिक उत्पादनलाई प्रोत्साहनको वातावरण बनाउन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!