एकीकृत स्वास्थ्य प्रणाली आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, साउन १२, २०८१ः

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ।

शनिबार वीर अस्पतालको १३५ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले वीर अस्पताल भित्रका सबै इकाइको समन्वय हुनु आवश्यक रहेको पनि बताउनुभयो। उहाँले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताउनुभयो। उहाँले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरू पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभयो। वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो।

उहाँले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो। सेवाग्राहीहरूले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिनुभयो।

मन्त्री प्रदीप पौडेलले भन्नुभयो, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ। इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ। एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ। एक अर्काको सम्बन्ध समन्वयात्मक ढङ्गबाट अगाडि बढाउन जरुरी छ। त्यसैले यो एकीकृत संस्था एकीकृत ढङ्गबाट काममा अघि जान जरुरी छ। हामीले व्यवस्थापकीय पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेका छैनौँ। व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन श्रोतभित्र हामीले राम्रो परिणाम दिनसक्छौँ। कतिपय उठेका प्रश्नलाई हामीले आत्मसाथ गरौँ। खरिद प्रक्रिया पारदर्शी छैन भने पारदर्शी बनाऔँ।’’

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरूमा धेरै केन्द्रित गरिरहेको बताउनुभयो। उहाँले वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताउनुभयो।

उहाँले इमर्जेन्सी सेवालाई सय शय्यामा विस्तार गर्न लागेको र टेण्डर प्रक्रियामा जान लागेको पनि बताउनुभयो। उहाँले हालैमात्र योग्यता/क्षमताको आधारमा सय जना नर्स राखेको पनि बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!