भोजपुरका किसानहरु बङ्गुरपालन तर्फ आकर्षित हुदै

भोजपुर, साउन ३१, २०८१ः

भोजपुर जिल्लाका पशुपालक किसानहरु बङ्गुरपालनतर्फ आकर्षित भएका छन्। व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्।

भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा फार्म दर्ता गरी १६ लाख रुपैयाँ खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा सुरु गरेको बङ्गुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको बताए।

आफूले पालेका बङ्गुर तराईका विभिन्न जिल्लासँगै काठमाडौंसम्म बिक्री हुन थालेपछी उनी उत्साहित छन्। सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए। स्थानीय जातको बङ्गुरभन्दा उन्नत जातको बङ्गुरबाट चाँडो आम्दानी लिन सकिने उनले बताए। उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बङ्गुर पालेका छन्।

स्थानीय जातका बङ्गुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बङ्गुर एक सयदेखि एक सय ८० किलोसम्म हुने गरेको छ। खेतबारीमा रमाउने किसान सुवेदीले बङ्गुरपालन मात्र होइन, फलफूलखेती पनि गरेका छन्।

उनका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन्। यो याममा एभोकाडोबाट रु पाँच लाख आम्दानी गर्ने लक्ष्य उनले सुनाए। स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिए। यसैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बङ्गुरपालन सुरु गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!