“उच्च नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदै छ भनेर बदनाम गरियो” माओवादी उपमहासचिव शर्मा

काठमाडौं, भाद्र १, २०८१ः

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डकै अगाडि आफूलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हुन्।

उपमहासचिव शर्माले कार्यकर्तालाई के आफू दलाल जस्तो देखिन्छु ? के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए। उनले पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरिबाट आफूले पार्टी फुटाउँदै छ भनेर बदनाम गरिएको आरोप लगाए।

उनले भने, ‘आज म बडो आश्चर्यमा छु। तपाईंहरूलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नी ? तपाईंहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ ? भन्नुस्– म दलालजस्तो छु ? म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईंहरूले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छ। पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदै छ भनेर मेरो बदनाम गरिएको छ।’

शर्माले अहिले पार्टीभित्र सङ्घर्ष र प्रश्न गर्नुपर्ने आवश्यकता ठानेर नै आफूले प्रश्न गरेको बताउँदै आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दुराग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुन्जायस नै नरहेको स्पष्ट गरेका थिए।

शर्मापछि बोलेका अध्यक्ष प्रचण्डले आफू र जनार्दन शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउँदै यो पार्टीको राम्रोको लागि भएको व्याख्या गरेका छन्। उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको बताउँदै अहिलेसम्म सहज रुपमा नै समाधान गर्दै आएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!