चिया बेच्दै गरेका व्यक्तिमाथि महानगर प्रहरीको दुर्ब्यबहार

काठमाडौ, भाद्र ९, २०८१ः

काठमाडौं महानगरपालिकाको प्रहरीले गङ्गालाल अस्पताल अगाडि चिया बेच्न बसेका एक व्यक्तिलाई लछारपछार गरेको छ।

आज बिहान साढे ६ बजे चिया बेच्न दुइटा थर्मस बोकेर गङ्गालाल अस्पतालको गेटअगाडि पुगेको उक्त व्यक्तिलाई महानगर प्रहरीले लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल एक्स लगायतमा आइरहेका छन्। चिया बिक्री गर्ने व्यक्तिको नाम महानगर प्रहरीले खुलाएको छैन।

महानगर प्रहरी पूर्णचन्द्र भट्टका अनुसार चियाका कपहरू जथाभावी फाल्दा फोहोर बढ्यो भन्ने स्थानीयको गुनासो अनुसार महानगर प्रहरी त्यहाँ पुगेको थियो। ‘चिया पिएका कपहरू जसले बिक्री गरेको हो। उसले सफा नगर्ने गर्दा फोहोर बढ्यो भन्ने गुनासा आएको छ,’ उनले भने, ‘जति गुनासो गरे पनि महानगरले कारबाही गरेन भनेर गत शुक्रबार पनि फेरि गुनासा प्राप्त भएको थियो। हामीले बारम्बार यसरी चिया बिक्री नगर्नुस्, फोहोर नगरिदिनुस् भन्दा मानेको अवस्था रहेन।’

आइतबार बिहान पनि गङ्गालाल अस्पताल नजिकै पुग्दा सडक अवरोध गरेर चिया बेचिरहेको देखेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिनुपरेको उनको दाबी छ। नियन्त्रण लिने क्रममा ती व्यक्ति दुई प्रहरीमाथि नै जाइलागेको उनले दाबीसमेत गरे।

‘हामीले उहाँलाई यहाँ चिया बेच्न पाइँदैन भनेर सामान जफत गरेका थियौँ। त्यसपछि झनै उहाँ दुई नगर प्रहरीमाथि हातपात नै गर्नुभयो। एक जनाको त ड्रेस नै च्यातिएको छ,’ उनले भने।

उनले सामाजिक सञ्जालमा नगर प्रहरीलाई कुटेको भिडिओ नहाली पछि भ्यानमा बसाउन खोजेको मात्रै भिडिओ हालेर नगर प्रहरीलाई बदनाम बनाउन खोजेको दाबी पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!