पोखरा, असोज ७, २०८१ः
सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।
जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको हो।
विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई हिजो पोखरा ल्याइएको थियो।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो।
जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत प्रांगण पुगेका थिए। त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए।