काठमाडौं, ९ असोज २०८१ः
विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा रहने भएका छन्। काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि अझै हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका डीआईजी नविन्द अर्यालले बताए।
प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित घरबाट असोज ६ मा पक्राउ गरेको थियो। त्यसबेला प्रहरीले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति पाएको थियो। प्रहरीले त्यसबेलै १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो। तर अदालतले तीन दिनलाई मात्र स्वीकृति दियो।
ब्युरोमा एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन्। त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले अघिल्लो साता बुधबार अनुमति दिएको थियो।
प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ। प्रहरीका अनुसार, हाल प्रसाईंविरुद्ध अर्को एक जना पीडितले पनि उजुरी दिएकी छन्।