काठमाडौं , १३ मंसिर २०८१ः
मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ।
मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ। यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ।
आइतबार ३३ जिल्लामा ४४ पदका लागि मतदान हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो। मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन्।