ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने : मन्त्री विराजभक्त श्रेष्ठ

काठमाडौँ, १३ चैत्र २०८२ः

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभएको छ।

आज मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री श्रेष्ठले २१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग बढ्दै गएको उल्लेख गर्दै समयसापेक्ष नीति निर्माण गरी ऊर्जा क्षेत्रको विकासमा जोड दिइने बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न अर्थ मन्त्रालयसँग समन्वय गरिने र अन्तरमन्त्रालय सहकार्यबाट ऊर्जा तथा सिँचाइ क्षेत्रको समग्र विकासमा लागिने जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले पानी अभावका कारण खेतीयोग्य जमिन बाँझो रहने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै सहरी तथा ग्रामीण क्षेत्रमा पानीको ‘रिचार्ज सिस्टम’ विकासका लागि विशेष टोली गठन गरिने बताउनुभयो।

वैकल्पिक ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रलाई थप सशक्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, ऊर्जा र सिँचाइ क्षेत्रमा अनुसन्धानलाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो। उहाँले सुशासन ऐनअनुसार मन्त्रालयमा सुशासन समिति गठन गरिने र वित्तीय अनुशासनलाई प्रभावकारी बनाइने बताउनुभयो। मन्त्रालयमा प्राप्त उजुरी तथा चुनौतीहरूको अध्ययन गरी समाधानतर्फ अघि बढ्न पनि उहाँले निर्देशन दिनुभयो। मन्त्री श्रेष्ठले मन्त्रालयका गतिविधिबारे प्रत्येक हप्ता सञ्चार माध्यममार्फत जनतालाई जानकारी गराउन कर्मचारीलाई निर्देशन दिनुभएको छ।

वि.सं. २०७४ मा विवेकशील साझा पार्टीबाट बाग्मती प्रदेशसभा सदस्य बन्नुभएका श्रेष्ठ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ८ बाट निर्वाचित भई यस अघि युवा तथा खेलकुदमन्त्री समेत बन्नुभएको थियो।

उहाँले प्रदेशसभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई बाग्मती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो।

मन्त्री श्रेष्ठलाई पदबहालीका अवसरमा ऊर्जा सचिव चिरञ्जीवी चटौत, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी तथा जल तथा ऊर्जा आयोगका सचिव दीनानाथ मिश्रले स्वागत गर्दै मन्त्रालयका गतिविधिबारे जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!