औषधिको नाममा भ्रामक विज्ञापन रोक्न विभागको कडाइः विज्ञापन बोर्डलाई निर्देशन दिन आग्रह

काठमाडौँ, ७ जेठ २०८३ः
रत्न काजि प्रजापति

औषधिको नाममा भ्रामक, अप्रमाणित तथा कपोकल्पित विज्ञापन प्रसारण भइरहेको भन्दै औषधि व्यवस्था विभागले कडाइ थालेको छ । विभागले यस्ता विज्ञापन नियन्त्रण गर्न विज्ञापन बोर्डलाई आवश्यक पहल तथा सम्बन्धित निकायलाई निर्देशन दिन अनुरोध गरेको छ।

औषधि व्यवस्था विभागले आज विज्ञापन बोर्डलाई पत्राचार गर्दै विभिन्न सञ्चारमाध्यम, अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत औषधिको नाममा भ्रामक विज्ञापन प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विभागका अनुसार यस्ता विज्ञापनले सर्वसाधारण नागरिकलाई भ्रममा पार्नुका साथै जनस्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने जोखिम बढाएको छ। विभागले यसअघि पनि पटक–पटक सार्वजनिक सूचना जारी गर्दै यस्ता कार्य नगर्न तथा नगराउन आग्रह गर्दै आएको जनाएको छ।

विभागले प्रचलित औषधि ऐन, २०३५ तथा औषधि दर्ता नियमावली, २०३८ अनुसार औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त नगरी कुनै पनि औषधिको विज्ञापन प्रकाशन, प्रसारण वा प्रचारप्रसार गर्न नपाइने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ साथै विभागले विज्ञापन बोर्डलाई विभागबाट स्वीकृति नलिएका औषधिसम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण तथा प्रचारप्रसार रोक्न आवश्यक समन्वय गर्न तथा सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गरेको छ।

औषधि सम्बन्धी कुनै पनि विज्ञापन प्रसारण गर्नु अघि विभागबाट स्वीकृति प्राप्त भए/नभएको यकिन गर्न अनुरोध गर्दै बिभागले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा गैरजिम्मेवार प्रचारप्रसार रोक्न सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!