“गुणस्तरीय दानासँगै वैज्ञानिक व्यवस्थापन सम्बन्धी ज्ञान किसानका लागि अपरिहार्य छ।” पिताम्बर सञ्जेल, म्यानेजिङ डाइरेक्टर, ए.बी. पेलेट फिड

कुरिनघाट, ७ जेठ २०८३ः

व्यावसायिक कुखुरा पालनलाई थप वैज्ञानिक, सुरक्षित र उत्पादनमुखी बनाउने उद्देश्य सहित चितवनको कुरिनघाटमा कुखुरा पालनसम्बन्धी एक दिने विशेष व्यावसायिक तालिम सम्पन्न भएको छ।

“उत्कृष्ट पोषण र उत्कृष्ट उत्पादन” भन्ने नारासहित आयोजित उक्त तालिम ए.बी. पेलेट फिड प्रा.लि. र शाही सप्लायर्सको संयुक्त आयोजनामा कुरिनघाटस्थित शाही सप्लायर्समा सम्पन्न भएको हो। कार्यक्रममा करिब ६० जना किसान तथा कुखुरा व्यवसायीको उत्साहजनक सहभागिता रहेको छ।

तालिममा ए.बी. पेलेट फिड प्रा.लि.का म्यानेजिङ डाइरेक्टर पिताम्बर सञ्जेल, पशु चिकित्सक डा. कुमार पौडेल तथा डा. थानेश्वर भट्ट प्रमुख प्रशिक्षकका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा संयोजक दिपेश लामिछाने, बजार व्यवस्थापक आनन्द चौधरी तथा शाही सप्लायर्सका सञ्चालक सानुबाबु खड्गीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै म्यानेजिङ डाइरेक्टर पिताम्बर सञ्जेलले कुखुरा पालनमा तापक्रम व्यवस्थापन, भेन्टिलेसन, खोर व्यवस्थापन तथा उचित हेरचाहको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। गुणस्तरीय दानासँगै वैज्ञानिक व्यवस्थापनसम्बन्धी ज्ञान किसानका लागि आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस्ता तालिमले उत्पादन वृद्धि र क्षति न्यूनीकरणमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

शाही सप्लायर्सका सञ्चालक सानुबाबु खड्गीले किसानहरूमा विशेषगरी ब्रुडिङ व्यवस्थापन, तापक्रम नियन्त्रण र खोर व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञानको कमी देखिएकाले तालिम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार किसानलाई आधुनिक प्रविधि र व्यवस्थापनबारे सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

तालिमका क्रममा डा. थानेश्वर भट्टले खोर व्यवस्थापन, ब्रुडिङ, लिटर व्यवस्थापन, पानी तथा प्रकाश व्यवस्थापन, भेन्टिलेसन, खोर निसंक्रमण र सरसफाइबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो। यस्तै डा. कुमार पौडेलले जैविक सुरक्षा (बायो–सिक्युरिटी), खोप व्यवस्थापन तथा कुखुरामा देखिने रोगको रोकथाम र नियन्त्रणबारे प्राविधिक जानकारी प्रदान गर्नुभएको थियो।

कार्यक्रमका दौरान धेरै किसानमा कुखुराको आवश्यक तापक्रम सम्बन्धी जानकारी अभाव रहेको पाइएपछि ए.बी. पेलेट फिड प्रा.लि.ले सहभागी किसानहरूलाई थर्मोमिटर समेत वितरण गरेको थियो, जसलाई किसानहरूले सकारात्मक रूपमा लिएका थिए।

कार्यक्रम संयोजक दिपेश लामिछानेले यस्ता तालिम कार्यक्रमले किसानलाई आधुनिक, वैज्ञानिक तथा व्यावसायिक कुखुरा पालनतर्फ प्रेरित गर्ने बताउँदै आगामी दिनमा पनि विभिन्न स्थानमा जनचेतनामूलक तथा प्राविधिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!