विभागमा परिवर्तनको सकारात्मक सन्देश : उत्तरदायी नेतृत्वको नयाँ अभ्यास, एक नविन सुरुवात

शुभमान श्रेष्ठ, महासचिब, नेपाल औषधि ब्यबसायी संघ काठमाडौ शाखा

नेपालको स्वास्थ्य प्रशासनको इतिहासमा औषधि व्यवस्था विभाग (DDA) को स्थापना एक महत्वपूर्ण मोडको रूपमा दर्ज छ। ४६ वर्षको यो यात्रामा विभागले उतार-चढाव देख्यो, आलोचना सुन्यो, प्रशंसा पनि पायो। तर कुनै पनि संस्थाको वास्तविक परीक्षा तब हुन्छ, जब नेतृत्व बदलिन्छ र त्यस नेतृत्वले छोटो समयमा धेरै परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्छ।

२०८३ वैशाख १७ गते निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्ने बित्तिकै जुन गतिमा काम सुरु भयो, त्यो सामान्य थिएन। त्यो एउटा स्पष्ट सन्देश थियो— “अब कुरा गर्ने होइन, काम गर्ने बेला हो।”

नेपालको सार्वजनिक प्रशासनिक संरचनामा “परिवर्तन” भन्ने शब्द धेरै पटक प्रयोग हुन्छ, तर व्यवहारमा त्यसको अनुभूति कमै हुने गरेको यथार्थ कसैबाट लुकेको छैन। विशेषगरी नियामक निकायहरूमा निर्णय प्रक्रियाको जटिलता, सेवाग्राहीमैत्री वातावरणको अभाव, ढिलासुस्ती, असहज कार्यप्रणाली र सरोकारवालासँगको दूरीका कारण आलोचना भइरहने अवस्था विगतदेखि रहँदै आएको थियो।

यही सन्दर्भमा, २०८३ वैशाख १७ गतेदेखि निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएकी वरिष्ठ औषधि व्यवस्थापक शिवानी खड्गीज्यूको नेतृत्वमा विभागको टिमले केवल ३६ दिनको अवधिमा देखाएको सक्रियता, उत्तरदायित्व र सुधारमुखी कार्यशैलीले औषधि व्यवस्था विभागप्रति नयाँ आशा र विश्वास पैदा गरेको छ।

४६ वर्षको विभागीय इतिहासमा छोटो समयमै यति धेरै संरचनात्मक, व्यवहारिक र सेवामुखी पहलहरू एकपछि अर्को गर्दै अगाडि बढ्नु सामान्य प्रशासनिक घटना मात्र होइन, यो सार्वजनिक सेवा प्रणालीमा “कार्यसंस्कृतिको परिवर्तन” को संकेत हो।

विगतमा सरकारी कार्यालयहरूमा “सेवा लिन आउने व्यक्ति” भन्दा “फाइल” लाई बढी प्राथमिकता दिइने गुनासो व्यापक थियो। तर हाल विभागले अपनाएको दृष्टिकोणमा सेवाग्राहीलाई केन्द्रविन्दुमा राख्ने स्पष्ट संकेत देखिएको छ।

२०८३ वैशाख २३ गते आयोजित “सेवा प्रवाह, सूचना प्रणाली, दैनिक कार्य सम्पादन र व्यावहारिक कठिनाइहरू” सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम केवल औपचारिक कार्यक्रम थिएन; यसले विभाग सरोकारवालाको आवाज सुन्न तयार छ भन्ने सन्देश दिएको थियो।

त्यसको भोलिपल्ट २०८३/०१/२४ गते नै गुनासो संकलन कक्ष स्थापना, अधिकृत व्यवस्थापन तथा सुझाव तथा गुनासा संकलनको व्यवस्था गर्नु प्रशासनिक दृष्टिले निकै सकारात्मक र आधुनिक अभ्यास हो। सरकारी निकायले सेवाग्राहीसँग प्रत्यक्ष संवाद स्थापित गर्न खोज्नु आफैंमा सुधारको महत्वपूर्ण आधार हो।

यसैगरी, औषधि व्यवसाय केवल विभागसँग मात्र जोडिएको विषय होइन; यसमा भन्सार, आन्तरिक राजस्व, स्वास्थ्य संस्था, उद्योग र व्यवसायिक क्षेत्र सबैको प्रत्यक्ष सम्बन्ध रहन्छ।

यही यथार्थलाई आत्मसात गर्दै २०८३/०१/३१ गते विभागले भन्सार विभाग र आन्तरिक राजस्व विभागको सहभागितामा आयोजना गरेको विशेष छलफल कार्यक्रम अत्यन्त व्यवहारिक र दूरदर्शी कदम थियो। यस्ता बहु-निकाय समन्वयले व्यवसायिक जटिलता कम गर्नुका साथै नीतिगत स्पष्टता र कार्यान्वयनमा सहजता ल्याउने विश्वास गर्न सकिन्छ।

अझ एक कदम अघि बढ्दै विभागले २०८३/०२/०१ गतेदेखि सञ्चालनमा ल्याएको “नागरिक सहायता तथा सहजीकरण केन्द्र” तथा “एकल विन्दु सेवा प्रणाली” विभागीय सुधारको अर्को महत्वपूर्ण उपलब्धि हो।

नेपालको प्रशासनिक अभ्यासमा एउटै कामका लागि विभिन्न झ्याल, कोठा र शाखा धाउनुपर्ने बाध्यता सामान्य मानिँदै आएको अवस्थामा सेवाहरूलाई एकै स्थानबाट प्रवाह गर्ने प्रयासले सेवाग्राहीमैत्री प्रशासनको अभ्यासलाई बलियो बनाएको छ।

यदि यो प्रणाली दीर्घकालीन रूपमा प्रभावकारी ढंगले सञ्चालन हुन सक्यो भने, यसले विभागको छवि मात्र होइन, समग्र सार्वजनिक सेवा प्रवाहको मापदण्ड नै परिवर्तन गर्न सक्ने सम्भावना बोकेको छ।

विभागले कानुन कार्यान्वयनमा स्पष्टता र जिम्मेवारी बोध गर्दै २०८३/०२/०५ गते जारी गरिएको सूचनामार्फत सम्पूर्ण थोक विक्रेतालाई विभागमा दर्ता भएका बिक्री केन्द्र, औषधि पसल, फार्मेसी, सरकारी कार्यालय तथा कानुनबमोजिम दर्ता भएका संस्थालाई मात्र औषधि बिक्री वितरण गर्न निर्देशन दिनु औषधि क्षेत्रको अनुशासन, ट्रेसबिलिटी र जनस्वास्थ्य सुरक्षाका दृष्टिले अत्यन्त आवश्यक कदम हो।

अझ प्रशंसनीय पक्ष के रह्यो भने, कानुनको प्रभावकारी कार्यान्वयनसँगै सरोकारवालासँग संवाद र छलफललाई समानान्तर रूपमा अघि बढाइनु हो। यसले प्रमाणित गर्छ कि नियमन र सहजीकरणलाई सन्तुलित रूपमा अघि बढाउनु नै परिपक्व प्रशासनको परिचायक हो।

यसैबीच, औषधिको भ्रामक विज्ञापन नियन्त्रणतर्फ देखिएको संवेदनशीलताअनुसार २०८३/०२/०७ गते औषधिको नाममा भइरहेका भ्रामक तथा अप्रमाणित विज्ञापन नियन्त्रण गर्न गरिएको अनुरोधले विभाग जनस्वास्थ्यप्रति जिम्मेवार रहेको देखाउँछ।

आजको डिजिटल युगमा गलत सूचना र अप्रमाणित दाबीहरूले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यस्तो अवस्थामा नियामक निकायले समयमै चासो दिई चालेको कदम उदाहरणीय छ।

यो नेतृत्वको सबैभन्दा सकारात्मक पक्ष भनेको “सुन्ने संस्कृतिको विकास” हो। सरोकारवाला संघ–संस्था, व्यवसायी, सेवाग्राही र पेशागत क्षेत्रको आवाज सुन्न थालिएको अनुभूति भएको छ।

सरकारी निकाय र सरोकारवालाबीच टकराव होइन, संवाद हुनुपर्छ भन्ने लोकतान्त्रिक प्रशासनिक मूल्यलाई विभागले व्यवहारमा उतार्ने प्रयास गरेको देखिन्छ।

नीति निर्माण, कार्यान्वयन र नियमन प्रक्रियामा सरोकारवालाको सहभागिता सुनिश्चित हुन सके मात्र दीर्घकालीन सुधार सम्भव हुन्छ। अहिले विभागले थालेको अभ्यास यही दिशातर्फ उन्मुख देखिन्छ।

अन्त्यमा

यी सबै कार्यहरू हेर्दा नेतृत्वले पारदर्शिता, जवाफदेहिता, समावेशिता र निष्पक्षताप्रति जुन अग्रसरता देखाएको छ, त्यो केवल शब्द वा सपना मात्र होइन; ३६ दिनमै ४६ वर्षको कार्यसंस्कृतिमा परिवर्तनको संकेत हो।

निमित्त महानिर्देशक शिवानी खड्गीज्यूको नेतृत्वमा DDA परिवारले गरेको प्रयास संस्थागत संस्कृतिको परिवर्तन हो। संस्थाहरू ठूलो बजेट वा घोषणाले मात्र बदलिँदैनन्; बदलिन्छन् त नेतृत्वको सकारात्मक सोच, त्यसलाई परिणाममुखी सेवामा रूपान्तरण गर्ने कर्मचारीहरूको अथक मेहनत, र सेवाग्राहीको सम्मान गर्दै गरिने साना तर सही निर्णयहरूबाट।

हाम्रो औषधि व्यवसाय क्षेत्र लामो समयदेखि नीतिगत अस्पष्टता, प्रक्रियागत जटिलता र समन्वय अभावजस्ता समस्यासँग जुध्दै आएको छ। यस्तो अवस्थामा छोटो अवधिमै देखिएको सक्रियता र सुधारमुखी सोचले सकारात्मक ऊर्जा प्रदान गरेको छ।

“सार्वजनिक संस्थाको वास्तविक शक्ति अधिकारमा होइन, विश्वासमा निहित हुन्छ। र विश्वास तब निर्माण हुन्छ, जब राज्यले नागरिकको आवाज सुन्छ।”

वास्तवमा, ४६ वर्षपछि अहिले आएर यो अनुभूति सत्य हुँदै गएको देखिन्छ। यसले नेतृत्वप्रति आस्था जगाएको छ।

त्यसकारण आगामी दिनहरूमा पनि सेवाग्राहीलाई केन्द्रविन्दुमा राखी पारदर्शिता, जवाफदेहिता, निष्पक्षता र मुस्कानसहितको सेवा प्रवाहलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइनेछ भन्ने विश्वास लिइएको छ।

“मुस्कानसहितको सेवा”—यो केवल नारा होइन, यो प्रतिबद्धता हो, र त्यो प्रतिबद्धता व्यवहारमा रूपान्तरित हुँदै गएको अनुभूति छ।

यसकारण, यो गति रोकिनु हुँदैन। यो नेतृत्वको निमित्त महानिर्देशकिय भूमिका स्थायी होस् वा नहोस्, त्यो प्रशासनिक विषय हो। तर जुन दिशामा काम भइरहेको छ, त्यो सही छ, र त्यसलाई निरन्तरता दिनु आगामी नेतृत्वको पनि दायित्व हुनेछ।

अन्त्यमा, यस सकारात्मक कार्यको थालनी गर्नुभएकोमा हामी सेवाग्राहीहरूको तर्फबाट निमित्त महानिर्देशक शिवानी खड्गीज्यू, वरिष्ठ औषधि व्यवस्थापक किरण सुन्दर बज्राचार्य सहित सम्पूर्ण औषधि व्यवस्था विभाग परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!