काठमाडौं, ७ जेठ २०८३ः
रत्न काजि प्रजापति
नेपाल ह्याचरी उद्योग संघले देशमा बढ्दै गएको अवैध पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रणका लागि सुरक्षा निकायहरूसँग छलफल गरेको छ। संघले आज मधेश प्रदेशका सुरक्षा निकायका प्रमुखहरूसँग भेटवार्ता गरेको हो।

संघले नेपाल प्रहरी मधेश प्रदेश प्रमुख डिआईजी गोविन्द थापालिया तथा सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालसँग भेट गरी अवैध पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रणका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
उक्त छलफलका क्रममा सीमा नाकामा कडाइका साथ निगरानी, प्रभावकारी चेकजाँच, तथा समन्वयात्मक रूपमा नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने विषयमा ब्यबसायीहरुले जोड दिइएको छ। संघले अवैध पोल्ट्री आयात नियन्त्रण भए मात्र स्वदेशी उद्योगको संरक्षण, रोग संक्रमणको जोखिम न्यूनीकरण तथा राज्यको राजस्व वृद्धि सम्भव हुने धारणा राखेको छ।
नेपाल दाना उद्योग संघका अध्यक्ष उमेश सापकोटा, नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष डा. बलराम किसी, प्रथम उपाध्यक्ष बलराम सञ्जेल, महासचिव नवराज पौडेल, केन्द्रीय सदस्य देव गिरी, ईश्वर कार्की तथा ओम तिवारी लगायतको सहभागिता रहेको थियो।
संघका अनुसार नेपालमा पोल्ट्री क्षेत्र आत्मनिर्भर उद्योगका रूपमा विकसित हुँदै आएको छ। करिब १ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको यस क्षेत्रले देशको कुल गार्हस्थ उत्पादन (GDP) को करिब ३ प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ५ लाख जनालाई रोजगारी प्रदान गर्दै आएको बताइएको छ। संघले पोल्ट्री उद्योगले आयात प्रतिस्थापन गर्दै आम उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय तथा पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराइरहेको उल्लेख गर्दै, यसको विकासले कृषि क्षेत्रको उर्वराशक्तिमा समेत सकारात्मक प्रभाव पारेको जनाएको छ।
तर खुला सीमा नाकाका कारण अवैध पोल्ट्रीजन्य वस्तुहरूको प्रवेश बढिरहेको भन्दै संघले गम्भीर चिन्ता व्यक्त गरेको छ। विशेषगरी भारतबाट चल्ला, कुखुरा, तयारी मासु तथा अण्डा अवैध रूपमा भित्रिने क्रमले स्वदेशी उद्योगलाई ठूलो जोखिममा पारेको संघको भनाइ छ।
संघका अनुसार भारतमा समय–समयमा देखिने बर्ड फ्लु जस्ता रोगहरूको जोखिम समेत नेपालमा प्रवेश गर्ने खतरा बढेको छ। साथै, प्रज्ञापनपत्रमा अन्य वस्तु उल्लेख गरी मासु तथा कुखुराजन्य सामग्री अवैध रूपमा भित्र्याउने घटनाले राजस्व चुहावट र खाद्य सुरक्षा दुवैमा चुनौती थपिएको बताइएको छ।
यस्तै, भन्सार जाँच प्रक्रियामा देखिएका कमजोरीका कारण कन्टेनरहरूमा उल्लेखित वस्तुभन्दा फरक वस्तु भेटिने घटनाहरू पनि बढिरहेको संघले जनाएको छ।