वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. रविना प्रधानांगलाई कल्पना स्मृति पुरस्कार प्रदान

भक्तपुर, २३ माघ २०८१ः
मध्यपुर अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. रविना प्रधानांगलाई पाँच हजार नगद सहित रफत कल्पना स्मृति पुरस्कार प्रदान गरिएको छ। २०७२ सालको भूकम्पमा बित्नु भएका आफ्ना पुत्री कल्पना थापाको स्मृतिमा बुबा प्रेमबहादुर थापाले स्थापना गर्नु भएको सो पुरस्कार आज रफत सञ्चार क्लबको १५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले बितरण गर्नु भएको थियो।
सोहि समारोहमा दबाब साप्ताहिकका सम्पादक अमर भुजूलाई पाँच हजार रुपियाँ नगद सहित स्व. तुलबहादुर थापा एवं रुपा थापा स्मृति पुरस्कार तथा वरिष्ठ पत्रकार टिकाराम यात्रीलाई पाँच हजार नगद सहित रफत क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री गुरुङ्गले जनतालाई चाँडो सेवा प्रदान गर्न र देशमा तीब्र विकासको उद्देश्य राखी आफूहरुले सदनमा ६ वटै अध्यादेश पेश गरेको बताउनु भयो । वहाँले अनलाइन मिडियाहरु अत्यन्तै अराजक र उछृंखल हुन पुगेको बताउनु हुँदै त्यसलाई नियन्त्रण गर्नु पर्ने धारणा अगाडि सार्नु भयो ।
कार्यक्रममा संघिय सांसद दुर्लभ थापाले अध्यादेश र विधेयक बारे चर्को वहस भइरहेको अवस्थामा पत्रकारहरुले पनि विधायक सांसदहरुलाई मार्ग निर्देशन गर्ने खालको समाचार संप्रेसन गर्नु पर्ने धारणा अगाडि सार्नु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालमा पत्रकारिता गर्न गाह्रो रहेको र भक्तपुरमा पत्रकारिता गर्न झनै गाह्रो रहेको बताउनु हुँदै हरेक आन्दोलनमा अग्रीम मोर्चामा रही सशक्त आन्दोलन गरिरहेको भक्तपुरलाई राज्यले हेलाको दृष्टिकोणले हेर्ने गरेको गुनासो गर्नु भयो ।
सम्मानित ब्यक्तित्व टिकाराम यात्रीले पत्रकारहरु स्वतन्त्र र निष्पक्ष भनिए तापनि दलको समर्थनबाट मात्रै अगाडि बढ्ने परिपाटीको विकास भएको बताउनु भयो ।
रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापाको सभापतित्वमा भएको क्लबको १५ औं स्थापना दिवस समारोहमा उपाध्यक्ष राकेश श्रेष्ठले स्वागत गर्नु भएको थियो । सो कार्यक्रममा पुरस्कारका दाता प्रेमबहादुर थापाले ती पुरस्कारहरु स्थापना गर्नु पर्ने आवश्यकता माथि प्रकाश पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!