काभ्रे, २५ माघ २०८१ः
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । उहाँले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरुलाई समाजवादी क्रान्तिकै तयारीको रुपमा बुझ्न पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौं’– उहाँले भन्नुभयो– ‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरु गरिरहेका छौं, यो हामीले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो ।’
जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई बिरोधीले अपत्याएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढाएकाले देशकै प्रमुख शक्तिको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो । ‘पछिल्लो शान्तिकालमा हामी कतै लरबरायौं, अलिकति सुधारवाद र उदारवादमा हरायौं, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने आशंका गर्न थाल्यो’– उहाँले भन्नुभयो– ‘तर, अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौं, भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, बामपंथ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने सङ्कल्प गरेका छौं, यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको सङ्कल्प हो ।’
शान्ति सम्झौता गरेर पार्टी बहुदलीय प्रतिष्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता कार्यकर्ताहरु बढी नै दायाँतिर ढल्कन थालेको यथार्थ बोध गरेर नै अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको उहाँले स्पष्ट गर्नुभयो । जनयुद्धको उत्कर्ष चरणमा भएको चुनबाङ बैठकको निर्णय स्मरण गराउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले त्यतिबेला स्पष्ट भनेका थियौं– अब गणतन्त्र आउँछ, यसका लागि बुर्जुवाहरुसँग सम्झौता गर्नुपर्ने पनि हुनसक्छ तर त्यो गणतन्त्रलाई बर्जुवाहरुले आफ्नोअनुकूलको गणतन्त्र बनाउने प्रयास गर्ने छन् र हामीले समाजवादी गणतन्त्र बनाउने प्रयास गर्ने छौं । अहिले हामी यही संघर्षको विन्दुमा आइपुगेका छौं ।’
शान्ति प्रक्रिया र संविधान लेखनहुँदै यहाँसम्म आइपुग्दा विभिन्न सफलता र कमजोरीका बीच एउटा कालखण्ड पार गरिएको उल्लेख गर्दै उहाँले अब पार्टी सम्पूर्ण रुपमा समाजवादी क्रान्तिको चरणमा अघि बढ्ने बताउनुभयो । जनयुद्धको थालनी, जनयुद्ध सञ्चालन, शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा जस्ता युगान्तकारी निर्णय गर्ने अवसर पाउने माओवादी मात्रै एक मात्र शक्ति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको थालनी पनि माओवादीले नै गर्ने बताउनुभयो । यद्यपि यसका लागि माओवादी नेता कार्यकर्ताहरुको रुपान्तरणको विकल्प नभएको उहाँले स्पष्ट गर्नुभयो ।