काठमाण्डौ, ३० माघ २०८१ः
रत्न काजि प्रजापति
भारतीय सिमानाकाबाट हुने गरेका पोल्ट्रीजन्य पदार्थहरुको अबैध आयात नियन्त्रण गर्न पोल्ट्री ब्यबसायीहरुद्वारा गृहमन्त्री रमेश लेखकको घ्यानाकर्षण गरेको छ। आज गृहमन्त्री रमेश लेखकसंग भेट गरी ब्यबसायीहरुले पोल्ट्री क्षेत्रका समस्याहरु समाघान गरि दिन अनुरोघ गरेका हुन।
भेटका क्रममा ब्यबसायीहरुले अबैध आयात नियन्त्रण गर्न भारतीय सिमा नाकाका सुरक्षा निकायहरुलाई आवश्यक निर्देशन दिन अनुरोघ गरेको छ। साथै अवैध ओसार पसारमा प्रयोग हुने सवारी साधानहरु समेत जफत गरि लिलामी गर्नु पर्ने र विगो बरावरको जरिवाना गराउने व्यवस्था हुनु पर्ने, अवैध ओसारपसार नियन्त्रणमा प्रत्यक्ष संलग्न सुरक्षा निकायहरुलाई प्रोत्साहन गरिनु पर्ने, भन्सार कार्यालयहरुले राम्रो सग चेक जाचको व्यवस्था गरिनु पर्ने जस्ता मागहरु ब्यबसायीहरुले राखेका छन।
नेपालको कृषि क्षेत्र मध्ये एक मात्र आत्मनिर्भर व्यवसायको रुपमा बिकास हुदै गरेको पोल्ट्री ब्यबसायको प्रमुख समस्या र चुनौती भनेकै भारतीय सिमा नाकाहरुवाट व्यापक रुपमा सेतो अण्डा, तयारी कुखुरा, तयारी मासु र १ दिने चल्ला्हरु अबैध रुपमा आयात हुनु नै हो। यसबाट अति सम्वेदशील मानिएको पोल्ट्री पेशामा रोग संक्रमणको अत्यन्त ठुलो जोखिम रहनुका साथै अवैध आयातले देशको राजश्व चुहावटमा समेत नकारात्मक प्रभाव पारेको छ।
नेपालको पोल्ट्री क्षेत्रमा करिब १ खरब ६० अरब रुपैया लगानी रहनुका साथै देशको कुल ग्राहस्थ उत्पादनको करिब ३.७ प्रतिशत हिस्सा ओगटेको छ। यो क्षेत्रले प्रत्यक्ष रुपमा ५ लाख व्यक्तिलाई रोजगारी उपलब्ध गराई राज्यका लागि सहयोग पुरयाउदै आएको छ । पोल्ट्री व्यवसायले आयात प्रतिस्थापन गर्दै आम देशवासीहरुलाई सवैभन्दा सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउदै आइरहेको छ ।
नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेको नेतृत्वमा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, उपाध्यक्ष सुनिल कुमार शाक्य, महासचिव भेषराज अर्याल, सचिव मदन चिरन्जीवि पोखरेल, कोषाध्यक्ष श्री प्रकाश चापागाई, सदस्य सन्जीव खनाल र अमोद खनाल लगायतका प्रतिनिधि मण्डलले गृहमन्त्री सग भेट गरेको हो।