कृषि र कृषिजन्य उत्पादनसँगै शिक्षा क्षेत्रलाई देशमा आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित गर्नुपर्नेः प्रचण्ड

गुल्मी, १ फागुन २०८१ः

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताउनुभयो । ‘एकथरिले मुलुकमा केही भएका छैन भन्ने गरेका छन् त्यसो होइन, गणतन्त्र स्थापनापछि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ’– उहाँले भन्नुभयो– ‘तर, जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन्, अब हामी सिंगो मुलुकलाई एकताबद्ध गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने बेला आएको छ ।’

हजारौं युवाहरु बिदेश जाने र रेमिट्यान्सबाट देश चलाउने अवस्था रहेको उल्लेख गर्दै उहाँले देशभित्रै रोजगारी सृष्टि गरेर बिदेश जान बाध्य युवाहरुलाई पुनः स्वदेशकै फर्काउने गरी सबै तहका सरकारले योजना बनाउनुपर्ने र त्यसमा पनि मूलतः कृषि उत्पादन वृद्धिका लागि स्थानीय सरकारहरुले योजनाबद्ध पहल थाल्नुपर्ने बताउनुभयो । ‘हामी जति जतिसक्दो धेरै उत्पादन वृद्धि गरी रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न चाहन्छौं’– उहाँले भन्नुभयो– ‘अब हामीले राजनीतिक रुपमा पनि समाजवादउन्मुख अर्थतन्त्रको निर्माणमा जोड दिन चाहेका छौं, हिजो जसरी राजनीतिक क्रान्तिलाई अभियानकै रुपमा अघि बढाउँदा सफलता प्राप्त भयो, अब त्यसरी नै आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा बढाउनुपर्ने बेला आएको छ ।’

स्थानीय तहबाट उत्पादन वृद्धिका कार्यक्रम सुरु गर्ने गरी पार्टीले योजनाबद्ध पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको राजनीतिक प्रतिवेदनमै स्थानीय विशेषतामा आधारित उत्पादन वृद्धिका कार्यक्रममार्फत राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई जोड दिएको बताउनुभयो । ‘हामीले ५० वर्षअघि खाद्यान्न निर्यात गथ्र्यौै तर अहिले आयातमा गर्ने अवस्थामा पुगेका छौं’– उहाँले भन्नुभयो– ‘आफ्नो खेतबारी बाझो छाडेर बिदेश जाने प्रवृत्ति बढ्दै गएको छ, यसको मुख्य कारण उत्पादन वृद्धिमा राज्यको योजनाबद्ध पहल नुहनु नै हो । अब हामी फेरि आत्मनिर्भरताको अभियानमा केन्द्रित हुनुपर्ने बेला आएको छ । खाद्यान्न आयात होइन निर्यात गर्ने दिन फर्काउनुपर्ने बेला आएको छ ।’

कृषि र कृषिजन्य उत्पादनसँगै शिक्षा क्षेत्रलाई देशमा आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित गर्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो । हामीकहाँ केही पनि छैन भनेर नयाँ पुस्तालाई अध्ययनदेखि रोजगारीमा समेत बिदेश जानुपर्छ भन्ने परनिर्भर मानसिकताको विकास गराउन थालिकोमा चिन्ता व्यक्त गर्दै उहाँले आफ्नै माटोको उत्पादनलाई जोड दिने देशभक्तिपूर्ण भावनाको विकासका लागि पनि शिक्षा क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो ।

अमेरिकाले थालेको आप्रवासी निष्काशन कार्यक्रम, मध्यपूर्वमा देखिएका तनाव आदिका कारण कुनै बेला हजारौं नेपालीहरु बैदेशिक रोजगारी छाडेर नेपाल फर्कने अवस्था आउनसक्ने आँकलन गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समेत हामी तयारी अवस्थामा बस्न आवश्यक रहेको बताउनुभयो ।

आफू प्रधानमन्त्री भएको बेलामा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै यी परियोजनाबाट गुल्मी लगायतका जिल्ला लाभान्वित हुन थालेको उहाँले बताउनुभयो । आफू पछिल्लोपटक प्रधानमन्त्री हुँदा सालझण्डी–ढोरपाटन सडकमा पनि राम्रो बजेट छुट्याएको स्मरण गराउँदै उहाँले सबै गाउँपालिका केन्द्र जोड्ने सडकका लागि पनि आफूले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!